अत्तरिया । तीन दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न ठाउँमा भीषण बाढी आएको छ ।

बाढीले जनधनमा क्षति पुर्याउन थालेको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ गेटानजिक कल्भर्टबाट २० वर्षीया नवीना चौधरी बगेर बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका वडा नम्बर–४ भुर्वामा केही परिवार डुबानमा फसेका छन् । उनीहरूको उद्धारका लागि सेनासहित संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ ।

भजनीकै विभिन्न वडामा अन्य पाँच सयभन्दा बढी परिवार डुबानबाट प्रभावित भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय भजनीका हवल्दार नरेश पन्तले अवस्था निकै भयावह रहेको बताउनुभयो । ‘भुर्वामा दस परिवारको उद्धारका लागि प्रयास भइरहेको छ,’ हवल्दार पन्तले भन्नुभयो, ‘धेरैतिरको विवरण अझै संकलन हुन सकेको छैन ।’

उद्धारका लागि तेघरी ब्यारेक र सशस्त्र प्रहरी कार्यालयहरुबाट सुरक्षाकर्मी परिचालित भएका छन् । यस्तै कैलारी गाउँपालिकाका ७, ८, ९ नम्बर वडाहरुका घरहरु पनि डुबानमा परेका छ्न । भजनी, टीकापुर र कैलारीमा आफ्नो टोली परिचालित भएको सेनाको तेघरी ब्यारेकले जनाएको छ ।

 

सम्बन्धित खबरहरु