काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताउनुभएको छ ।

शनिबार संविधान दिवसका अवसरमा एमालेले निकालेको पदयात्रापछि सम्बोधन गर्दै ओलीले देशलाई अप्ठेरो अवस्थाबाट अगाडि लैजानुपर्ने बताउनुभएको हो ।

पदयात्राको नेतृत्व गर्नुभएका ओलीले सम्बोधनका क्रममा भन्नुभयो, देशलाई गठबन्धनले ‌ओरालोतिर लगिराखेको छ । यस ओरालो गतिलाई रोकेर देशलाई अगाडि लैजाने, माथि चढाउने, लोकतन्त्रको अभ्यासका हिसाबले, संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुरक्षाका हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले सशक्त ढंगले अगाडि बढ्नेछौँ ।

त्यस्तै पछिल्लो समय एमालेले धक्का खाएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नसमेत उहाँले नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, एकछिन धक्का खाएको होला तर त्यसलाई चिरेर अगाडि बढ्नुपर्छ । नेपाल नेपाली जनताले चलाउने हो अरु कसैले चलाउने होइन ।

देश संविधानसम्मत चल्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, यतिबेला देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन । संविधान दिवस र राष्ट्रियता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छौँ । त्यस्तै संविधान दिवसलाई जनताको दिवसका रूपमा र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने उहाँको भनाइ थियो ।

विगतमा विविधतायुक्त नेपालमा विद्वेष र कलहको विषय बनाउने कामसमेत भएको उल्लेख गर्दै ओलीले आफूहरूले संविधान र लोकतन्त्रको रक्षा गरेको दाबी गर्नुभयो ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा पदयात्रा सुरु गरेको हो । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो ।

पदयात्रामा अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु