काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिले समानता, समाजवाद र न्यायतर्फ लैजाने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १०औँ विज्ञान दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विज्ञानले सही र तथ्यपूर्ण कुराको वकालत गर्ने र समानता एवं न्यायका पक्षमा उभिने बताउनुभयो ।

परम्परागत जडताले विभेद, अपमान तथा उचनिच देखाएर मानिसलाई फुटाउने र शासन गर्ने भन्दै त्यसकाविरुद्ध उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विज्ञान र प्रविधिका बारेमा देशभित्र बृहत् छलफल चलाएर जानुपर्ने आवश्यकता औँल्याउनुभयो । विज्ञान प्रविधि सबैको हुने र त्यसले कुनै पनि प्रकारको विभेद नगर्ने भन्दै त्यसको अधिकतम सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले विज्ञान र प्रविधिको प्रयोगमार्फत समाज र राष्ट्रको समृद्धिमा ठूलो योगदान गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले विज्ञान र प्रविधिको सकारात्मक प्रयोग गरेर देशको विकास, आर्थिक उन्नयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबरहरु