काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फेरी सांसद बनेर संसद भवन आउँन नपाईने हो की भन्ने शंका गर्नुभएको छ ।

मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै उहाँले हामी को–को बढारिने हौँ यसै भन्न सकिन्न भन्नुभयो । उहाँले अहिले चलेको अभियानले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताउनुभयो ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन साह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र रहेको बताउनुभयो ।

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला’ भट्टराईले भन्नुभयो, ‘तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन ।’

भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताउनुभयो ।

‘युवापुस्ताको असन्तुष्टि छ, त्यसलाई कम नआँक्नुस् । पाँच वर्षको समीक्षा गर्दा हामी पास हुन सकेनौं । हामीले गल्ती गर्‍यौं’ उहाँले भन्नुभयो ।

राजनीतिक आन्दोलनका क्रममा त्याग र बलिदान गरेवापत अहिलेसम्म जनताले चुनेर पठाइरहेको भन्दै भट्टराईले तर हालका राजनीतिक दलहरुले जनताको आकांक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो ।

‘त्यसलाई सच्याएनौं भने आगामी निर्वाचन तपाई हामीलाई सहज हुनेवाला छैन’ उहाँले भन्नुभयो ।

कमी कमजोरी सुधारेर राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र समृद्धिका विषयमा नयाँ अवधारणा लिएर जान सकेमा मात्र पुन जित हासिल गर्न सकिने भट्टराईको भनाई थियो ।

सम्बन्धित खबरहरु