काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपालमाथी संगीन प्रश्न गर्नु भएको छ ।

उहाँले तीनकुनेको तस्वीर राख्दै कुन मुख देखाएर भोट माग्न जानुहुन्छ भनी प्रश्न गर्नुभएको हो ।

विभिन्न योजना बनाएर पनि वषौंदेखि तीनकुनेको पार्क बन्न नसकेको अवस्थालाई इंगित गर्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत तीनकुनेको फोटो राख्दै अब मतदातासँग मत माग्न जान लाज लाग्नुपर्ने बताउँनुभयो ।

उहाँले राष्ट्रपति भण्डारी र नेपाललाई आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँनुभयो । बालेनले अझै दुई महिना सरकार रहेको र समस्या समाधन हुने आशा व्यक्तसमेत गर्नुभएको छ ।

‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय राष्ट्रपतिज्यु, प्रधानमन्त्री बन्नुभयो राष्ट्रपति बन्नुभयो ।

आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन’, उहाँले लेख्नुभएको छ, ‘अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।

पार्क बनाउने भनेर तीनकुनेको जग्गा लामो समयदेखि ‘होल्ड’ मा छ । राष्ट्रपति भण्डारी र माधव नेपाल यही क्षेत्रबाट चुनाव लड्नुभएकाले बालेनले उहाँहरूप्रति लक्षित गरेर यस्तो पोष्ट गर्नुभएको हो ।

०३१ सालदेखिको विवाद हालसम्म पनि समाधान हुन सकेको छैन । करिब ५४ रोपनी जग्गा अधिग्रहणमा मुआब्जाका विवादका कारण समस्या जस्ताको तस्तै छ ।

काठमाडौं महानगरपलिकाले पटक–पटक पार्क निर्माणको नक्सा तयार पारे पनि अहिलेसम्म निर्माण कार्य अघि बढाउन सकेको छैन ।

सम्बन्धित खबरहरु