कैलाली । कैलालीमा एक सबै स्तब्त्र हुने दृष्य देखिएको छ । बाढीले पालेका सबै माछा बगाएको दृष्य आफ्नै अगाडी देख्नुपर्दा किसान मुर्छित भएको दृष्यले सबैलाई स्तब्ध बनाउँछ ।

कैलालीमा शुक्रबारदेखि परेको अविरल वर्षाले ठुलो क्षति पुर्‍याएको छ । जिल्लामा १५ सय घर डुबानमा परेका थिए भने, ६ हजार जना प्रभावित भएका थिए ।

भीषण वर्षाले कैलालीको घोडाघोडी नगरपालिका १२ रक्ताही तालमा शिवराज चन्दले पालन गरिरहेको लाखौँका माछा बगेको छ । ४६ लाख ८१ हजार नगरपालिकालाई दिने गरि ताल भाडामा लिएर माछा पालन गर्दै आइरहेका चन्दले शुक्रबारको वर्षाले ठूलो क्षति पुराएको बताउनुभयो । ‘वर्षाले धेरै ठुलो नोक्सानी गराएको छ’ उहाँले भन्नुभयो, ‘यो सिजनमा एक हजार क्विन्टल माछा निकाल्ने योजना बनाएको थिए । तर, सबै बगायो ।’

२६ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा चन्दले करिब ४ वर्ष पहिलेदेखि माछा पालन गर्दै आइरहनुभएको छ । कोरोनाको बेला पनि समस्या झेलेको बताउँदै चन्दले पछिल्लो दुई वर्षमा बाढीले नोक्सानी गरेको बताउनुभयो ।

‘कहिले कोरोनाले कहिले बाढीले नोक्सानी गरिरहेको छ । नगरपालिकाले कुनै चासो दिएको छैन’ उहाँले भन्नुभयो, ‘सम्झौताको रकम माग्न चासो दिने नगरपालिकाले क्षतिपूर्तिबापतको रकम भने दिइरहेको छैन ।’ उहाँले कृषक बिमा गरेको र नगरपालिकासँग पनि राहतको लागि पनि पहल गरेको भन्दै दुबै ठाउँबाट कुनै उपलब्धी नभएको गुनासो गर्नुभयो ।

शनिबार बिहान बाढीले माछा बगाएपछि ठुलो संख्यामा गाउँकै स्थानीयलाई माछा छोप्न भ्याइ न भ्याइ थियो । त्यो दृश्य देखाउँदै चन्दले भन्नुभयो, ‘यसरी त राति २ बजेदेखि माछा मारिरहनु भएको छ । टाढा टाढा सम्म पनि आज यहाँको माछा पुगेको छ ।’ उहाँले यस बिषयमा वडाध्यक्ष र नगरपालिका प्रमुखले पनि कुनै चासो नदिएको बताउनुभयो ।

राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष समेत रहनुभएका चन्दले यी र यस्तै कारणले युवाहरू कृषिमा आकर्षित हुन नसकिरहेको बताउँनुहुन्छ । ‘मैले प्रत्येक वर्ष घाटा बेहोरिरहेको छु नत अनुदान पाएको छु न राहत र क्षतिपूर्ति उहाँले भन्नुभयो, यसरी कृषिमा युवाहरूको आकर्षण बढाउन मेरो जस्तो समस्या झेलिरहेकाहरूलाई सरकार भएको आभास हुनुपर्छ ।’

उहाँले आफू मात्र नभएर आफू जस्ता अन्य सबै पीडित किसानहरूलाई सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु