काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीबाट छुटेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिरमा हुने आम चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । पार्टीको तेस्रो केन्द्रीय समिति बैठकले चुनाव अवज्ञा गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनमा बोल्दै संयोजक बास्तोलाले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको नीम्ति भन्दा निजी स्वार्थका नीम्ति राष्ट्रघात गर्ने माध्यम भएकाले त्यसलाई अवज्ञा गर्नुको विकल्प नरहेको बताउनुभयो । आफूहरुले निरपेक्षितरुपमा चुनाव अवज्ञा वा वहिस्कार र संघर्ष मात्रै नरोजेर त्यसको निकासका लागि तत्काल स्वाधीन संयुक्त सरकारको विकल्पसहित अगाडी बढेको जिकिर गर्नुभयो ।

वहिस्कार नभनेर ‘अवज्ञा’ शब्दको प्रयोग गर्नुभयो, सशक्त, सशस्त्र वा शान्तिपूर्ण कस्तो हुन्छ ? भन्ने संचारकर्मीको प्रश्नको जवाफ दिँदै बास्तोलाले विगतको जस्तो हिंसात्माक नहुने बताउँदै भन्नुभयो, “बहिस्कार भन्ने वित्तिकै बम विष्फोट, हातहतियारको प्रयोग, कुनै पनि किसिमको हिंसात्मक नभई शान्तिपूर्ण जनचेतनामुलक कार्यक्रमसहित अवज्ञाका लागि जनतामाझ जानेछौं ।”

विगतमा जस्तै, देउवा सरकारले नागरिकता विधेयक भारतियहरुको योजनामा विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने राष्ट्रघाति कदम भएको बताउँदै बास्तोलाले भन्नुभयो, “राष्ट्रमाथि दीर्घकालिन असर र बहुसंख्यक जनताको आवाजलाई लत्याउँदै जनविरोधी सत्ताको निरन्तरताको लागि चुनावको पूर्वसन्ध्यामा यो घातक विधेयक ल्याइएको छ जुन हामीलाई मान्य छैन ।”

आगामी ५ वर्षमा उही भ्रष्टाचार, महँगी, राज्यआतङ्क, राजनीतिक अस्थिरता, राष्ट्रघात, जनविरोधी कामहरू जनतामाथि थोपरिनेछन् र अबको चुनावमार्फत पनि त्यही गर्नेहुन्, त्यसैले सचेत नागरिकले यो चुनावको अवज्ञा र नयाँ विकल्पको लागि तयार बन्नुपर्छ, बास्तोलाले अगाडी थप्नुभयो ।

त्यसैगरी पार्टी प्रवक्ता हेमन्त प्रकाश ओलीले संसदीय व्यवस्थाको आडमा मुठीभर दलाल पुँजीपतिहरू, विदेशी एकाधिकार पुँजीपतिहरूबाहेक नेपाली जनताका पक्षमा कुनै काम गर्न सकेको आरोप लगाउनुभयो ।

प्रवक्ता ओलीले वाइड–बडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी, सुनकाण्ड, ओम्नी काण्ड, बतास काण्ड, एनसेलका लागि ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तरको सरकार बदली, आलोपालो भ्रष्टाचार र कमिसनखोरी गर्नु संसदीय व्यवस्थाका चारित्रिक विशेषताहरू भएकाले पनि अब नेपाली समाजले त्यसको विकल्पका लागि नयाँ व्यवस्था रोज्नैपर्ने धारणा राखे ।

अहिले नेपालमा जतिसुकै फरक पार्टी भनिएपनि केही भिन्नता नभएको बताउँदै ओलीले भन्नुभयो, “समाजवादी कम्युनिस्ट नामधारी पुँजीवादका चाटुकार संसदवादीहरू, पुँजीवादी काङ्ग्रेस, सामन्तवादी राप्रपाकाबीच जनताको आँखामा कुनै भित्रता छैन ।”

बैंकिङ क्षेत्रमा पनि माफिया तन्त्र हावि भएकोले मिटरब्याज, सहकारी र वित्तीय संस्थामार्फत जनताको जमिन दलाल पुँजीपतिहरूको हातमा केन्द्रित हुँदै गएको, जलमाफियाहरुले झोलामा खोला राखेको, उद्योगहरूमा दलाल पुँजीपति वर्गको एकाधिकार हुनुको कारण रोजगारी सिर्जना गर्ने ठूला उद्योगहरू शून्य भएको पनि नेता ओलीले बताउनुभयो ।

चीन, भारतजस्ता छिमेकी देशहरूका बीचमा रहेको नेपालले अमेरिकाजस्तो देशलाई सैन्य अखडा निर्माण गर्ने अवसर दिनु अत्यन्तै दुःखद विषय भएको बताउँदै, नेता ओलीले भन्नुभयो, “नेपाली जनताको व्यापक विरोधका बावजुत पनि एमसीसी पारित गरियो, आईपीएससँगको आबद्धता सुनिश्चित गरिएको छ, एसपीपीसँगको सहकार्यमार्फत राष्ट्रघाती कामहरू भएका छन् अबपनि दलाल संसदिय व्यवस्थाको संरक्षण गर्न चुनावमा जानु मुर्खता हुन्छ ।”
उहाँले आफ्ना नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यबाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गर्नुभयो ।

 

सम्बन्धित खबरहरु