बेइजिङ । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् ।

यो महिनाको प्रारम्भमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भईरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ । चीनमा वर्सेनि खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन् । (रासस/एपी)

राष्ट्रसङ्घको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली जाने

संयुक्त राष्ट्रसंघको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली सहभागी हुने भएको छ । भारतका विदेश मन्त्री एस जयशंकरको नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरूले जनाएका छन् ।

उहाँको टोली यही सेप्टेम्बर १८ देखि २८ सम्म अमेरिका रहने भारतको विदेश मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको ७७औ महासभा यही सेप्टेम्बर १३ देखि अमेरिकाको न्युयोर्कमा सुरु भइसकेको छ । महासभामा शीर्ष नेताहरूले भने यही सेप्टेम्बर १९ देखि २३ तारिखसम्म सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा भारतका विदेश मन्त्री जयशंकरले ‘जी–फोर’ मन्त्रीस्तरीय बैठक पनि सञ्चालन गर्नुहुने मन्त्रालयले जनाएको छ । बैठकमा भारतसँगै ब्राजिल, जापान र जर्मनीका मन्त्रीहरु सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा उहाँले विभिन्न देशका शीर्ष नेता र समकक्षीहरूसँग पनि भेटेर दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । भेटका अवसरमा उहाँले आपसी सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउने बारेमा कुराकानी गर्नुहुने जनाइएको छ ।

 

सम्बन्धित खबरहरु