काठमाडौं । दर्जनौँ छात्राहरुको अश्लील भिडियो भाइरल भएको खबर बाहिर आएपछि विश्वविद्यालयभित्र हंगामा भएको छ । शनिबार राति भारत, पञ्जाब चण्डीगढ नजिकैको एक निजी विश्वविद्यालयमा अश्लील भिडियो भाइरल भएपछि हंगामा मच्चिएको छ ।

क्याम्पसकै एक विद्यार्थीमाथि कैयौं छात्राको अश्लील भिडियो बनाएको आरोप लागेको हो । छात्रामाथि आरोप छ कि उनले भिडियोहरू शिमलाका एक केटालाई पठाएकी थिइन्, जसले भाइरल बनाए ।

बीबीसी हिन्दीका गुरमिन्दर सिंह ग्रेवालका अनुसार शनिबार अबेर चण्डीगढ नजिकै मोहालीको एक निजी विश्वविद्यालयमा कम्तिमा आठ जना केटीहरूले आत्महत्याको प्रयास गरेपछि क्याम्पसमा हंगामा मच्चिएको थियो । तर, विश्वविद्यालय प्रशासनले आत्महत्याको प्रयासको खण्डन गर्दै त्यसलाई अफवाह भनेको छ ।

यस निजी विश्वविद्यालयका विद्यार्थीहरूले सेयर गरेको भिडियोमा एक युवतीले नुहाउने क्रममा केटी साथीहरूको भिडियो बनाएको स्वीकार गरिरहेकी छिन् । उनीमाथि केटीहरूको आपत्तिजनक भिडियो बनाए र शिमलामा बस्ने एक केटालाई पठाएको आरोप छ । विश्वविद्यालयका प्रवक्ताले पनि आत्महत्या प्रयासको खबरलाई खण्डन गर्दै यी सबै सञ्चारमाध्यममा फैलाइएको अफवाह भनेका छन् ।

आइतबार बिहान करिब ३ बजे प्रहरीको ध्यानाकर्षणमा यो कुरा आएको हो । मोहालीका एसएसपी विवेक सोनीले पत्रकारहरूसँग भने, ‘अहिलेसम्म प्रहरीले ती छात्राले आत्महत्याको प्रयास गरेको देखाउने कुनै प्रमाण फेला पारेको छैन ।’ उनका अनुसार केही छात्रालाई अस्पतालमा ल्याइए पनि अहिलेसम्मको चिकित्सकको मेडिकल रिपोर्टमा आत्महत्याको प्रयास भएको भन्ने कुरा उल्लेख गरिएको छैन् ।

सोनीले पनि कुनै प्रकारको अफवाहमा ध्यान नदिन अनुरोध गरेका छन् । यस घटनामा कसैको मृत्यु नहोस् भनेर सबैसँग अपिल समेत गरेका छन् । साथै उनले यस प्रकरणमा एफआईआर दर्ता भएको र आरोपी विद्यार्थीलाई पक्राउ गरी सोधपुछ भइरहेको पनि जानकारी गराए ।

घटनालाई दुर्भाग्यपूर्ण भन्दै पञ्जाबका महिला विकास तथा सामाजिक न्यायमन्त्री बलजीत कौरले घटनाको विस्तृत अनुसन्धान गरिने बताइन् ।
उनले पीडित छात्रालाई व्यक्तिगत रुपमा भेट्ने र दोषीलाई कडा कारबाही गरिने स्पष्ट पारेकी छिन् । पञ्जाबका शिक्षामन्त्री हरजोत सिंह बैन्सले ट्वीट गर्दै विद्यार्थीहरूलाई शान्ति कायम राख्न अपिल गरेका छन् ।

कुनै पनि दोषीलाई खुला नछनड्ने वचन पनि उनले दिए । उनले यो विषय अत्यन्तै संवेदनशील (आमा दिदीबहिनीको इज्जत) सँग सम्बन्धित रहेको भन्दै सञ्चारमाध्यमसहित सबैलाई सचेत हुन भनेका छन् । पञ्जाब महिला आयोगकी अध्यक्ष मनिषा गुलाटीले पनि घटनालाई दु:खद भएको बताउँदै यस विषयमा एसएसपी र डीसीसँग कुरा गरेको बताइन्। एक निजी टिभी च्यानलसँग कुरा गर्दै उनले घटना भएको विश्वविद्यालयको भ्रमण पनि गर्ने बताइन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पीडित युवतीलाई साहसका साथ काम गर्न अपिल गरेका छन् । ट्विटमा उनले भने, ‘चण्डीगढ विश्वविद्यालयमा एक युवतीले धेरै छात्राहरूको आपत्तिजनक भिडियो रेकर्ड गरेर भाइरल बनाइन् । यो धेरै गम्भीर र लाजमर्दो कुरा हो । यसमा संलग्न सबै दोषीलाई कडा सजाय हुनेछ । पीडित छोरीहरूमा साहस छ । हामी सबै तिमीलाई माया गर्छौँ । हामी सँगै छौं । सबैले संयमता अपनाउनुपर्छ ।’

विश्वविद्यालय प्रशासनद्धारा आत्महत्याको खबर अस्वीकार
विश्वविद्यालयका प्रवक्ता प्रभदीप सिंहले बीबीसी पत्रकार अरविन्द छाबरासँग फोनमा कुराकानी गर्दै छात्राले आत्महत्याको प्रयास गरेको खबरलाई खण्डन गरेका छन् । उनका अनुसार ती युवतीले आत्महत्याको प्रयास नगरेको तर अश्लील भिडियो सार्वजनिक भएपछि हंगामाका क्रममा तीन छात्रा बेहोस भएको बताए । विश्वविद्यालयका प्रवक्ताले पनि युवतीको भाइरल भिडियोबारे अनभिज्ञता व्यक्त गरेका छन् ।

पुरा घटना के हो ?
विश्वविद्यालयका केही विद्यार्थीले सञ्चारमाध्यमलाई पठाएको अडियोमा होस्टेलका विद्यार्थीले अन्य छात्रा नुहाएको भिडियो बनाएर भाइरल बनाएको आरोप लगाइएको छ । यसअघि यो भिडियो ४ युवतीको भएको भनिएको थियो तर भाइरल अडियोमा एक विद्यार्थीले यसमा केटीहरुको धेरै भिडियो रहेको र विश्वविद्यालय प्रशासनले कुनै कडा कारबाही नगरेको आरोप लगाएकी छिन् ।

शनिबार राति भाइरल भइरहेका केही तस्विरमा प्रहरीले पनि विद्यार्थीलाई बोलाएर मनाउन खोजेको छ । क्याम्पसमा नारा लगाएर आन्दोलन गरिरहेका विद्यार्थीको भिडियो पनि बाहिर आएको छ । सुरुमा विश्वविद्यालय व्यवस्थापनले आफैंले घटना सुल्झाउने प्रयास गरे पनि स्थिति नियन्त्रण बाहिर गएको देखेर प्रहरी बोलाइएको हो ।

एमएमएस भाइरल बनाएको भन्दै युवतीविरुद्ध खरार प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ । यस विषयमा एफआइआर दर्ता भएपछि विद्यार्थी शान्त भएका छन् । विश्वविद्यालयले क्याम्पसका गेटहरू बन्द गरेको छ । कुनै पनि मिडियालाई भित्र जान दिइएको छैन् । विश्वविद्यालयकै अर्को भिडियोमा केही छात्राहरू अचेत अवस्थामा देखिएका छन्, जसलाई स्थानीय अस्पतालमा लगियो ।

भिडियो भाइरल कसले बनायो ?
अर्को भाइरल भिडियोमा होस्टेलकी महिला वार्डनले आरोपित युवतीसँग सोधपुछ गरिरहेकी छिन् । जसमा युवतीले केही भिडियो बनाएर शिमलामा बस्ने एक केटालाई पठाएको कुरा भन्दै गरेको सुन्न सकिन्छ । महिला वार्डनले किन यस्तो गरेको भनेर सोधिन्, जसको जवाफ ती केटीसँग थिएन ।

सम्बन्धित खबरहरु