काठमाडौं । हास्य कलाकार कपिल शर्मा शोको नयाँ सिजन सुरु भएको छ । कपिल शर्मा फेरि एकपटक आफ्नो टिमसँग दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

जब कपिल शर्माको शो अफ एयर (बन्द) हुन्छ, फ्यानहरू उनको नयाँ सिजनको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन् । कपिल शर्मालाई लिएर मानिसहरुमा निकै क्रेज छ ।

यद्यपि कपिलका लागि यो सबै सहज थिएन । यस स्थानमा पुग्न उनले आफ्नो जीवनमा धेरै संघर्ष गरेका छन् । विगतको संघर्षका कारण उनी आज विलासी जीवन बिताइरहेका छन् । कपिल शर्मा, कडा मेहनतपछि यो उचाइमा पुगेका हुन् । कपिल आज करोडौंका मालिक हुन् ।

तर कुनै दिन उनले निकै कठिन दिन पनि देखेका छन् । कपिल शर्माको जीवनमा एक समय यस्तो थियो जब उनको आर्थिक अवस्था खासै राम्रो थिएन । पैसा नहुँदा उनले बहिनीको बिहे पनि गर्न सकेनन् । कपिल शर्माले एक अन्तर्वार्तामा आफूलाई आफ्नी बहिनीको लागि एउटा औंठी चाहिएको तर त्यो किन्न पैसा पनि नभएको बताएका थिए ।

अन्तर्वार्तामा कपिल शर्माले आफ्नी बहिनीको विवाह सन् २००७ मा तय भएको बताएका थिए । यस्तो अवस्थामा बहिनीकी सासुको माग थियो कि औंठी समारोह भव्य रुपमा गराइयोस् तर बहिनीको लागि औंठी किन्न घरमा पैसा थिएन ।

त्यसपछि कपिल शर्माले मुम्बई आउने निर्णय गरे । मुम्बई आएपछि कपिलको भाग्य राम्रो साबित भयो । मुम्बई आएपछि उनले द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज शो पनि जिते । विजेता बनेपछि कपिल शर्माले १० लाख (भारु) रुपैयाँ पाए । त्यसपछि कमेडियन कपिलले धेरै शो गरे र ३० लाख (भारु) कमाए, त्यसपछि उनले बहिनीको विवाह गरे ।

यो त विगतको पुरानो समय थियो । अहिले कपिलको जीवनमा पूर्ण परिवर्तन आएको छ । कपिलले आज करोडौं कमाउँछन् । मिडिया रिपोर्टका अनुसार कपिल शर्माको कुल सम्पत्ति करिब २७६ करोड भारु रहेको छ ।

 

सम्बन्धित खबरहरु