काठमाडौं । भारतीय जनता पार्टीका नेता अमित साहका पूर्व स्वकीय सचिव नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

पाल्पा, रामपुरका सन्दीप राना जो अमित साहका पूर्व स्वकीय सचिव हुनुहुन्थ्यो, उहाँलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो । धेरै समय भारतमा बस्नुभएका उहाँको पछिल्लो समय पाल्पामा आउजाउ बढेको थियो ।

१४ औं महाधिवेशनमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिनुभएका उहाँ ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पाल्पा–१ बाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस हुनुभएको छ ।

निर्वाचन क्षेत्र स्तरीय समितिले प्राय: प्रत्यक्ष र समानुपातिकतर्फ एकै व्यक्तिलाई सिफारिस गर्दैन, तर राना भने दुवैतर्फ सिफारिस हुन सफल हुनुभएको छ । समानुपातिकतर्फ त उहाँ पहिलो नम्बरमै सिफारिस हुनुभयो ।

पाल्पा–१ का क्षेत्रीय सभापति झमन मगरले सन्दीपकै आग्रह अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाम सिफारिस गरेको बताउनुभयो । ‘दुवैतिर नाम राख्नुस् भन्नुभयो । त्यसैले प्रत्यक्ष र समानुपातिक दुवैतिर नाम राखेर पठाएको हो’ उहाँले भन्नुभयो, ‘समानुपातिकमा पहिलो नम्बर र प्रत्यक्षमा चौथो नम्बरमा राखेर नाम पठाएको हुँ ।’

रानाको पार्टीमा सक्रियता, योगदानका आधारमा उम्मेदवार सिफारिस हुन योग्य नभएको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् । अझ उहाँको विगतको भूमिकालाई लिएर जिल्ला तहका नेताहरुले प्रश्न उठाएका हुन् ।

 

सम्बन्धित खबरहरु