काठमाडौं । २०७९ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले हवाई तथा सडक यातायातबाट घर पुर्याईदिने काम गरिरहेको छ ।

आज सेनाले एक विज्ञप्ति प्रकाशित गर्दै सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका साथ भदौ २९ गतेबाट असोज १८ गतेसम्म नेपाली सेनाद्वारा जमिनी एवं हवाई मुभ सञ्‍चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरुलाई आ–आफ्नो गन्तव्य स्थालसम्म पुर्‍याउने कार्य भईरहेको जनाएको छ ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा जमिनी बाटोबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गर्ने योजना अनुरुप हालसम्म हवाई उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवारहरु लाभान्वित भएका छन् । जमिनी मुभ असोज ०४ गतेबाट संचालन हुनेछ ।

प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली भए पश्चात सकल दर्जालाई गर्नु भएको सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा आश्रित परिवारहरुलाई प्रदान गर्दै आईरहेको छ ।

यो सेवा कल्याणकारी सेवा–सुविधाहरु अन्तर्गत सञ्‍चालन गरिएको सेनाले जनाएको छ । गत वर्ष यस सुविधा अन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १३४० जना गरी जम्मा १४५२ जना सकलदर्जा तथा आश्रित परिवारहरु लाभान्वित भएका थिए ।

साथै, यस वर्षको बडा दशैंको विदामा जाने अधिकतम् सकलदर्जा तथा आश्रित परिवारहरुलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरुको गन्तव्यसम्म पुर्‍याउने योजना रहेको व्यहोरा सेनाले जानकारी गराएको छ ।

सम्बन्धित खबरहरु