
काठमाडौं । खोचमा खसेका व्यक्तिको नेपाली सेनाले जीवित नै उद्धार गरेको छ ।
दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका, वडा नं. ३ स्थायी घर भई हाल सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका, वडा नं. १ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक वर्ष ३७ का केशव सिवाकोटीको सेनाले जीवित नै उद्धार गरेर पुर्नजीवन दिएको हो ।
उनी असोज ०१ गते स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खोचमा खसेका थिए । निजलाई असोज ०२ गतेको ०६ः३० बजे स्थानीय व्यक्तिहरुले देखी सुरक्षा निकायलाई खबर गरेका थिए ।
उक्त खबर प्राप्त भए पश्चात निजको उद्दार कार्यको लागि नेपाली सेनाको CQRT (Composite Quick Response Team) नेपाली सेनाको AUGUSTA (NA-058) हेलिकप्टरमार्फत घटनास्थलमा गई सकुशल उद्धार गरी सोही हेलिकप्टरमार्फत असोज ०२ गतेको १२ः०२ बजे काठमाडौं ल्याएको हो । हाल निजको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।