लन्डन । बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गर्नुभएकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन सोमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ ।

ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुनेछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो ।

बेलायतकी महारानीको शव राखिएको शव पेटिका सोमबार बिहान स्थानीय समयअनुसार १०ः४४ बजे शाही नौसेनाको १२३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेस्टमिन्स्टर आबी गिर्जाघरमा लगिने बीबीसीले जनाएको छ ।

बेलायतका नयाँ राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाइ बहिनीहरूसँगै हिँड्नुहुनेछ भने स्वर्गीय महारानीका नाति, नातिनीहरूले उहाँहरूलाई पछ्याउनेछन् । शवपेटिकाभन्दा अगाडि स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज् र रोयल एअर फोर्सका सैनिकहरू परम्परागत बाजा बजाउँदै हिँड्ने जनाइएको छ ।

बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुने बताइएको छ । ११ः५५ बजे लास्ट पोस्ट बजाएपछि ब्रिटेनभर दुई मिनेट मौनधारण गरिनेछ । रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिनेछ ।

महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । उहाँका पति फिलिपसँगै उहाँलाई समाधिस्थ गरिनेछ । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बर ८ मा स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा निधन भएको थियो । अन्त्येष्टि समारोहमा विश्व नेताहरू, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरी करिब २ हजार सहभागी हुने अपेक्षा छ । स्वर्गीय महारानीको अत्येष्टि समारोहमा भाग लिन विश्व नेताहरू लन्डन आइपुगेका छन् । विश्व नेताहरू एकैपटक बेलायतमा भेला भएको यो दशकौं पछिको संयोग हो ।

बेलायत सरकारले विश्वका राष्ट्रप्रमुख तथा वरिष्ठ सरकारी अधिकारी गरी झन्डै ५ सय जना पाहुनालाई आमन्त्रण गरेको छ । महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन शनिबार राति लन्डन आइपुग्नुभएको छ । त्यसैगरी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजी, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा आर्डन, भारतकी राष्ट्रपति द्रोपदी मुर्मु, चीनका उपराष्ट्रपति वाङ चिसान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लन्डन पुग्नुभएको छ । जापानका नरेश, स्पेनका राजारानी, बेल्जियमका राजारानी, स्पेनका पूर्वराजा, नेदरल्यान्ड्सका राजारानी, डेनमार्ककी रानी र राजपरिवार, स्विडेनका राजारानी, नर्वेका राजारानी, भुटानका राजा, ब्रुनाईका सुल्तान, जोर्डनका राजा, कुवेतका युवराज, लेसोथोका राजा, मलेसियाका सुल्तान, कतारका अमिर, ओमानका सुल्तान आदि आमन्त्रित पाहुना हुन् ।

अन्त्येष्टि समारोहमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र राजदूत ज्ञानचन्द्र आचार्यले भाग लिने जनाइएको छ । मन्त्री खड्काले आइतबार ल्यानक्यास्टर हाउस पुगेर शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेको दूतावासले जनाएको छ ।

विभिन्न देशबाट आएका राष्ट्रमण्डल र अन्य देशका पाहुनालाई बेलायतका राजा चार्ल्सले आइतबार ‘रिसेप्सन’ दिनुभएको थियो । रुस, म्यान्मार, बेलारुस, सिरिया, भेनेजुएला र अफगानिस्तानका नेतालाई भने अन्त्येष्टिमा निमन्त्रणा नगरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । रानीको अन्त्येष्टि कार्यक्रम विभिन्न पार्क, सिनेमा हल र चोकमा राखिएका ठूला स्क्रिनबाट समेत सर्वसाधारणले अवलोकन गर्न सक्नेछन् ।

ब्रिटिस इतिहासमै सबैभन्दा बढी करिब ४ बिलियन दर्शकले टेलिभिजनबाट अन्त्येष्टि समारोह हेर्ने अनुमान छ । बीबीसी, स्काई र आईटीभीले अन्त्येष्टि समारोह प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । कामदारहरूलाई रानीप्रति श्रद्धाञ्जलीको अवसर दिन खाद्यान्न तथा अन्य ठूला डिपार्टमेन्टल स्टोर, सुपरमार्केट, सिनेमाघर र स्कुल बन्द गरिएको छ ।

करिब २० लाख मानिस प्रत्यक्ष रूपमा लन्डन पुग्ने अनुमान गरिएको छ । ट्रान्सपोर्ट फर लन्डनले थप १० लाख मानिसलाई सेवा दिन आफू तयार रहेको जनाएको छ । करिब अढाई सय अतिरिक्त रेलले सेवा दिनेछन् भने इंग्ल्यान्डमा राजमार्ग मर्मतका लागि बाटो बन्द गर्ने योजना स्थगित गरिएको नेसनल हाइवेजले जनाएको छ । मेट्रोपोलिटन प्रहरीले इतिहासकै सबैभन्दा ठूलो इभेन्ट बताउँदै १० हजार हाराहारी प्रहरी अधिकृत परिचालन हुने जनाएको छ ।

सोमबार अन्तिम संस्कार गर्नुअघि सार्वजनिक श्रद्धाञ्जली दिन महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर चार दिनका लागि वेस्टमिनिस्टर हलमा राखिएको थियो । बिहीबारदेखि आइतबार बिहानसम्म रानीलाई श्रद्धाञ्जली दिन लाखौं मानिस सहभागी भएको जनाइएको छ । सर्वसाधारणले २० घण्टासम्म लाइनमा पंक्तिबद्ध भएर करिब १७ माइल दूरी पार गरी श्रद्धाञ्जली अर्पण गरेको बीबीसीले उल्लेख गरेको छ ।

 

सम्बन्धित खबरहरु