काठमाडौं । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले आइतबार निर्वाचन आयोगमा पुगेर हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरोविरुद्ध उजुरी दिनुभएको हो ।

बालेन (बालेन्द्र) शाह लौरो चुनाव चिह्नबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएसँगै अनन्तराज घिमिरेले हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता गराउँनुभएको थियो ।

आयोगले हाम्रो नेपाली पार्टीलाई २०७९ असार २९ मा दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो । आयोगको सूचीमा उक्त पार्टीको दर्ता नम्बर १८८ उल्लेख छ ।

दलको रुपमा दर्ता भइसकेपछि स्वतन्त्र नरहने भएकाले हाम्रो नेपाली पार्टीले आफूलाई स्वतन्त्र भनेर दाबी गर्नु कानूनविपरीत क्रियाकलाप भएको काठमाडौं क्षेत्र नम्बर–५ का स्वतन्त्र उमेदवार विजय कँडेलको भनाई छ ।

पार्टीको नाममा दर्ता भइसकेको चिह्न कसरी स्वतन्त्र रह्यो ? कँडेलले भन्नुभयो, लौरो चिह्न विवादित भएपछि हाम्रो नेपाली पार्टीलाई अर्को चिन्ह दिनुपर्छ भन्ने हाम्रो माग हो ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले पनि लौरो चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले हाम्रो नेपाली पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो चुनाव चिह्न खारेज गर्नुपर्ने माग राख्नुभयो । उहाँहरुको उजुरी आयोगमा दर्ता भएको छ । आयोगको बैठक बसेर निर्णय हुनेछ ।

सम्बन्धित खबरहरु