काठमाडौं । लन्डन नजिकैको लेस्टर शहरमा शनिबार व्यापक तनाव उत्पन्न भएपछि प्रहरी र स्थानीय नेताहरूले मानिसहरूलाई शान्ति कायम राख्न आग्रह गरेका छन् । त्यहाँ हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव बढेको हो ।

प्रहरीका अनुसार त्यहाँ ‘अचानक प्रदर्शन’ सुरु भएको थियो, त्यसपछि अहिलेसम्म दुई जना पक्राउ परेका छन् । अबका केही दिन यहाँ ठूलो संख्यामा प्रहरीको उपस्थिति रहने प्रहरीले जनाएको छ । गत अगस्ट २८ मा एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको भिडन्तपछि धेरै ठाउँमा दुवै समुदायका मानिसहरूबीच तनाव उत्पन्न भएको थियो, जसको यो पछिल्लो उदाहारण हो ।

लेस्टरको फेडरेशन अफ मुस्लिम अर्गनाइजेसनका सुलेमान नागदीले बीबीसीलाई भने, ‘हामीले यहाँको सडकमा जे देख्यौं त्यो चिन्ताजनक छ । भारत–पाकिस्तानको खेलपछि यहाँको समुदायमा तनाव थियो । यहाँ खेलकुदको अवसरमा मानिसको ठुलो भिडभाड हुन्छ र कहिलेकाहीँ अवस्था बिग्रन्छ ।’

उनले थप्दै भने, ‘हामीले शान्त भएर काम गर्नुपर्छ, यस्तो तनाव अन्त्य हुनुपर्छ । कतिपय युवाहरु यस्ता छन् जो धेरै रिसाएको कारणले विध्वंश मच्चाइरहेका छन् । हामी सबैलाई यो सन्देश दिन चाहन्छौं कि यो सबै समाप्त हुनुपर्छ । हामीले ती युवाको घरमा रहेका वृद्धवृद्धाहरूसँग कुरा गरेर उनीहरूलाई बुझाउने प्रयास गरिरहेका छौं ।’

लेस्टरको हिन्दू र जैन मन्दिरहरूसँग सम्बद्ध सञ्जीव पटेल शनिबार रातको घटनाले आफू स्तब्ध भएको बताए । उनी भन्छन्, ‘हामीले यो सहरमा दशकौंदेखि शान्तिपूर्ण जीवन बिताएका छौं, तर पछिल्ला केही हप्तामा त्यहाँ धेरै कुराहरू छलफल गर्न आवश्यक छ भन्ने कुरा प्रष्ट भएको छ, जसले गर्दा जनता के–कस्ता कुरामा आक्रोशित छन् भनेर बुझ्न सकिन्छ ।’

उनले अगाडि भने, ‘कुनै पनि हालतमा हिंसाको बाटो अपनाउनु उचित होइन । पछिल्ला केही दिन र विशेष गरी शनिबार के भयो भनेर हामी डराउँछौं ।’ हिन्दू, जैन र मुस्लिम समुदायका अगुवाहरूले शान्तिपूर्वक काम गर्नुपर्छ भन्ने पटक–पटक भनिरहेका छन् ।

भ्रामक जानकारीबाट बच्न अपील
सञ्जीव पटेलले पनि सामाजिक सञ्जालमा चलिरहेको भ्रामक जानकारीबाट बच्न मानिसहरूलाई अपील गरेका छन् । उनले भने, ‘हिंसा कुनै पनि समस्याको समाधान होइन । यो समय एक अर्कासँग शान्तिपूर्वक कुराकानी गर्ने समय हो ।’ यस घटनामा षड्यन्त्रको आशंकामा एक जना र धारिलो हतियार बोकेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यी दुबै जना अहिले प्रहरी हिरासतमा छन् । लेस्टरका मेयर सर पिटर सोल्सबीले भने, ‘मलाई लाग्दैन कि शनिबार यस्तो घटना हुन्छ भनेर कसैले पनि शंका गरेको थियो ।’ प्रहरीले जनतालाई शान्त रहन आग्रह गर्दै आश्वस्त पारेको छ । उनले भने, ‘शनिबार राती अवस्था बिग्रिएको थियो । म यसमा फसेका मानिसहरूलाई लिएर चिन्तित थिएँ । म खुशी छु कि प्रहरी तुरुन्तै हर्कतमा आयो, यो सजिलो काम थिएन ।’

उनले थप्दै भने, ‘तनावमा संलग्न अधिकांश २० वर्ष उमेर पुगेका युवा थिए । मैले सुनेको छु कि शहर बाहिरका मानिसहरू यहाँ तनाव सिर्जना गर्ने मौका खोज्न आएका थिए। यो घटना भएको क्षेत्रको अवस्था चिन्ताजनक छ ।’ सर पिटरका अनुसार सम्बन्धित समुदायका नेताहरू अगाडि आएर परिस्थितिलाई सम्हाल्ने प्रयास गरेको कुरा धेरै महत्वपूर्ण छ । यद्यपि उनले स्वीकार गरे कि युवाहरूसम्म पुग्न र उनीहरूलाई विश्वस्त पार्नु आफैमा ठूलो चुनौती छ ।

लेस्टरशायर प्रहरीका अधिकारी रोब निक्सनले शनिबार रातीको घटनाको बारेमा एक भिडियो सन्देशमा भने, ‘हामीले पूर्वी लेस्टर क्षेत्रमा तनावको धेरै रिपोर्टहरू प्राप्त गरेका छौं । हाम्रा अधिकारीहरू त्यहाँ छन् र स्थिति नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । हामी त्यहाँ थप अधिकारीहरू पठाउँदैछौं, जससँग मानिसहरूलाई रोक्न र अनुसन्धान गर्ने अधिकार छ । यसमा नआउन र शान्ति कायम गर्न जनतालाई अपील गर्दछौं ।’

अवस्था सामान्य बन्दै गएको छ–प्रहरी
आइतबार प्रहरीले ‘स्थिति नियन्त्रणमा रहेको’ र स्थिति सामान्यतर्फ फर्किएको जनाएको छ । प्रहरीले भनेको छ, ‘हिंसा र सम्पत्तिमा क्षति पुगेको धेरै रिपोर्टहरू बाहिर आएका छन् र यस विषयमा अनुसन्धान भइरहेको छ । हामीलाई थाहा छ कि सामाजिक सञ्जालमा एक भिडियो साझा भएको छ जसमा एक व्यक्तिलाई लेस्टरको मेल्टन रोडमा रहेको धार्मिक भवनमा झण्डा फ्याँक्न खोजिरहेको देखिन्छ । प्रहरीले तनाव कम गर्न खोज्दा घटना भएको देखिन्छ । यस विषयमा छानबिन हुनेछ ।’

महिला प्रत्यक्षदर्शीले के देखिन् ?
शनिबार तनाव देखेकी एक महिला प्रत्यक्षदर्शीका अनुसार त्यहाँका मानिसहरूले कालो मास्क लगाएका थिए, उनीहरूले पूरै अनुहार छोपेका थिए र उनीहरूले हुड पनि लगाएका थिए । उनले बीबीसीलाई उनीहरु जताततै भएको बताइन् । फुटबल खेल हेरेर भीड फर्किरहेको जस्तो देखिन्थ्यो । उनले भनिन्, ‘प्रहरीले बाटो रोकेको थियो । प्रहरी अधिकारीहरूले काँधमा काँध मिलाएर अपिङ्घम रोड अवरुद्ध गरेका थिए ।’ सामाजिक सञ्जालमा भाइरल फुटेजमा प्रहरीले भीडलाई भगाउन खोज्दा बोतललगायत धेरै चीजहरू प्रहरीतर्फ फ्याँकिएको देखिन्छ । ग्रीन लेन रोडमा बस्ने एक महिलाले शनिबार आफूले देखेको कुरा ‘धेरै डरलाग्दो’ भएको बताइन् । उनी भन्छिन्, ‘सबै कुरा नियन्त्रण बाहिर देखिन्थ्यो । प्रहरी त्यहाँ थियो तर नियन्त्रण गर्न सक्ने अवस्थामा थिएन् । मानिसहरू अझै डराउँछन्, अनिश्चितताको अवस्था छ र अहिले जे भएको छ, त्यो विगत केही सातादेखि उत्पन्न तनावका कारण हो ।’ अगस्ट २८ मा दुबईमा जारी एसिया कपमा पाकिस्तान र भारतबीचको खेल भएको थियो । त्यसपछि लेस्टरमा विभिन्न मुद्दामा अहिलेसम्म कैयौं व्यक्ति पक्राउ परेका छन् ।

अगस्ट २८
आकस्मिक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका थिए । यस विषयमा अनुसन्धान भइरहेको छ । सार्वजनिक स्थलमा शान्ति भंग गर्ने ६ जनालाई प्रहरीले पक्राउ गर्यो । सार्वजनिक स्थलमा शान्ति भंग गरेको आरोपमा अर्का १९ वर्षीय युवक पक्राउ परेका छन्

५ सेप्टेम्बर
सार्वजनिक स्थलमा शान्ति भंग गर्ने सात जना पक्राउ परे, पछि सबैलाई जमानत दिइयो ।

६ सेप्टेम्बर
हतियारसहित २४ र १७ वर्षका दुई जनालाई प्रहरीले पक्राउ गर्यो । तर पछि उनीहरु धरौटीमा रिहा भए । पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गर्यो । त्यसपछि उनी पनि धरौटीमा रिहा भए । मादक पदार्थ सेवन गरी सवारी चलाउने अर्का एक जना पक्राउ परेका छन् ।

७ सेप्टेम्बर
सार्वजनिकस्थलमा शान्ति भंग गरेको अभियोगमा यसअघि नै पक्राउ परेका दुईजनालाई पक्राउ गरिएको थियो ।

९ सेप्टेम्बर
झगडा गरेको आरोपमा तीन जना पक्राउ परे, पछि उनी धरौटीमा छुटे । सोही दिन ज्यान मार्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका थिए । पछि उनी पनि धरौटीमा रिहा भए ।

सेप्टेम्बर १०
मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका थिए । तर पछि उनलाई धरौटी मिल्यो । तरपनि उनी अदालतमा हाजिर हुनुपर्छ ।

सेप्टेम्बर ११
प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको थियो । ती व्यक्तिलाई धारिलो हतियार राखेको र लाइसेन्स र बीमा बिना सवारी चलाएको आरोप लगाइयो । पछि धरौटीमा रिहा भएका उनलाई आगामी दिनमा अदालतमा पेस गर्ने कार्यक्रम रहेको छ । बीबीसी

सम्बन्धित खबरहरु