काठमाडौं । बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सरकारी निवासबाहिर आइतबार एक युवतीले मिडियालाई लामो अन्तर्वार्ता दिनुभयो ।

आफू निलम्बित प्रधानन्यायाधीश राणाकी छोरी सुनिधि राणा भएको बताउँदै उहाँले सरकारको व्यवहारको कडा शब्दमा भर्त्सना गर्नुभयो । मुलधारका सञ्चार माध्यमले समेत उहाँलाई छोरी नै भनेर समाचार प्रकाशन प्रसारण गरे ।

सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार गरेको, भित्रबाट बाहिर निस्कन नदिएको गुनासो गर्दै न्यायालय जोगाउन जनता घरबाट निस्कन अपिलसमेत गर्न भ्याउँनुभयो । आत्मविश्वासका साथ सरकार र वरिष्ठ अधिवक्ताहरूविरुद्ध खनिएकी उक्त युवती राणाकी आफ्नै छोरी भने नभएको खुलासा भएको छ ।

पारिवारिक स्रोतका अनुसार, राणाकी सुनिधि नामकी कुनै छोरी छैनन् । उहाँका दुई श्रीमतीमध्ये जेठी उमा हमालतर्फबाट छोरी श्रृष्टि र छोरा सचिन्द्र शमशेर हुनुहुन्छ ।

स्टोभ पड्किएर उमाको मृत्युपछि राणाले दोस्रो बिहे गर्नुभएको थियो । दोस्रो श्रीमतीतर्फबाट छोरी समृद्धि मात्र हुनुहुन्छ । ‘भतिजी वा धर्मपुत्री भए थाहा भएन । अन्तर्वार्तामा देखिएकी युवती चोलेन्द्र शमशेरकी साख्खै छोरी भने हैनन्’, एक आफन्तले पुष्टि गर्नुभयो ।

पछि बुझ्दै जाँदा राणानिवासबाट निस्किँदै गर्दा अन्तर्वार्ता दिने युवती भने दैलेखकी मीना जैसी भएको खुलेको छ ।

उहाँको घर दैलेखको साविक चामुण्डा गाविस हालको चामुण्डा–बिन्द्रासैन नगरपालिका हो । स्थानीय देवीराम जैसीका दुई छोरीमध्ये उहाँ जेठी हुनुहुन्छ । केही वर्षअघिसम्म देवीराम दैलेख सदमुकाममा होटल चलाउँनुहुन्थ्यो ।

मिडियासँगको अन्तर्वार्तामा सुनिधि राणा बताउने मीनाले दैलेखबजारस्थित सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षाका लागि काठमाडौं आउँनुभएको देखिन्छ ।

दैलेख जाँदा उहाँले आफू मोडलिङमा लागेको बताउने गर्नुभएको थियो । तर, केही वर्षभित्रै उहाँको आर्थिक हैसियत बढेर निजी सवारी साधन प्रयोग गर्ने तहमा पुग्नुभयो । उहाँले परिवारलाई पनि काठमाडौं ल्याउँनुभएको देखिन्छ एक जानकारले बताउँनुभयो ।

आइतबार एकाएक राणाकी छोरीका रूपमा सञ्चारमाध्यममा छाएपछि दैलेखका छिमेकी र साथीसंगी अचम्ममा परेका छन् । राणा परिवारसँग उहाँको वास्तविक साइनो के हो खुलेको छैन । सञ्चारमाध्यममा उहाँको अन्तर्वार्ता आएपछि चोलेन्द्रपुत्रीका रूपमा उहाँ एकाएक चर्चामा आउनुभएको छ ।

केही टेलिभिजन र न्यूज एजेन्सी नेपालले उहाँको अन्तर्वार्ता लिएको थियो । न्यूज एजेन्सीको भिडियो सामग्री व्यापक प्रयोग भएपछि सो अन्तर्वार्ता एकाएक भाइरल भएको थियो । पत्रकारले नाम सोध्दा ती युवतीले केही अड्किएर सुनिधि राणा भनेको देखिन्छ ।

उहाँसँगै रहेकी अर्की युवतीले पनि आफ्नो परिचयमा आफू राणाको छोरी भएको बताउँनुभएको थियो । ‘नजरबन्द’मा परेको भनेका प्रधानन्यायाधीशकी छोरीको परिचय दिएपछि आफूहरूले महत्व दिएको न्यूज एजेन्सीका प्रबन्ध निर्देशक सविन धमलाले बताउनुभयो ।

अन्तर्वार्ता प्रसारणपछि आइतबार साँझै उहाँले केही टेलिभिजनमा सम्पर्क गरी ‘बुवा रिसाइस्यो, त्यो अन्तर्वार्ता हटाइदिनु’ समेत भन्नुभएको थियो । राणा परिवारसँग उहाँको सम्बन्धबारे बुझ्न खोज्दा भने उहाँले बोल्न चाहानुभएन ।

सम्बन्धित खबरहरु