काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ।

दशैँ, तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ । यस्ता विवरण राख्न सबैलाई अनुरोध गरेको काठमाडौंका प्रवक्ता मैनालीले बताउनुभयो।

प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ। सामाजिक सञ्जालमा पोस्ट गरेर चोरलाई आमन्त्रण गरेजस्तो विगतमा भएकाले सचेत रहन अपिल गरिएको प्रहरीले जनाएको छ ।

चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक वित्तीय संस्था, भिडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको सङ्ख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तयारी गरेको प्रहरीले बताएको छ।

 

सम्बन्धित खबरहरु