नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो ।

विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् ।

यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गर्नुभएको छ । (रासस/सिन्ह्वा)

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह
जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन् ।

आइतवार बिहान क्युशुको दक्षिणी शीर कागोशिमा सहरनजिकै अवतरण भएको आँधीका कारण एक करोड ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको क्युशुमा सामान्य जनजीवन प्रभावि बनेको हो । उक्त द्वीप जापानका चार मुख्य टापुमध्ये सबैभन्दा दक्षिणमा पर्छ।

अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन ‘विशेष सूचना’ जारी गरेका छन् । ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने र वायुको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जनाएको छ ।

उक्त आँधी अहिले क्युशुमा उत्तरतर्फ बढिरहेको छ र त्यसले टापुको मध्यभागमा अवस्थित पर्वतीय क्षेत्रमा ठूलो वर्षा गराइरहेको छ ।

यो आउँदा दिनमा जापानको मध्यतिर हुँदै टोकियोेसम्म पुग्ने अपेक्षा गरिएको छ । त्यस क्रममा यो उत्तिकै शक्तिशाली हुने बताइएको छ ।

जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् ।

सम्बन्धित खबरहरु