भूमिराज पिठातोली, बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने वित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उहाँको नियति नै हो ।

आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी परेपछि सो खोलाले दिउँसै बाटो मोडेको थियो । तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो ।

“एक्कासि राति जडारीगाडमा ढुङ्गाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,” महादेव भन्नुहुन्छ, “राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।”

त्यसपछि महादेवले गाउँलेलाई उठाउनुभयो । रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुईबजेदेखि नै जाग्राम बस्नुप¥यो । “गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौँ,” महादेवले भन्नुभयो, “गाडले ठूलै सङ्केत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौँ । गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबैजना त्यतै जम्मा भएर रात बितायौँ ।”

खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतबार रातभर नै गाउँमा पहरा दिनुभएको रहेछ । रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुङ्गाको आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौँ ।

खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्ला बगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरू भएयता दैनिकी जस्तै हो । “पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,” खातीले भन्नुभयो, “जडारीगाड नजिकैका बस्तीका लागि भगवान भरोसा मात्रै हुन्छ । अन्य गाउँको त अरू व्यवस्था पनि होला तर, हाम्रो खातीगाउँमा भने गत वर्ष नै बाढीले सर्वस्व लुटेको थियो ।”

गत वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौँ रोपनी उत्पादन हुने जमिन, करोडौँ मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत्लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो । “गत वर्षको बाढी आउँदा हामी घरमै थियौँ”, उहाँ भन्नुहुन्छ, “दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौँ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।”

खातीगाउँमा सर्वस्व गुमेका दुई परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् । उब्जनी गर्ने जमिन कसैको पनि छैन । घर भने दुई परिवारबाहेक सबैका छन् । “हाम्रो जमिन जै जीवनको आधार हो, त्यो सबै खोलाले बगाएपछि अहिले घरबाहेक केही छैन,” हर्कबहादुरले भन्नुभयो, “मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो । गतवर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ । अहिले जमिन शून्य छ । घर भने त्यसैमा बसिरहेका छौँ ।”

गतवर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना हुनुहुन्छ । रोजगार कसैको पनि छैन । बाढीको चपेटामा परेका उहाँलाई कपडा, भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले सहयोग गरेका थिए । प्रेम खाती अहिले तत्कालको सहयोगको पर्खाइमै हुनुहुन्छ ।

“कमाउने कोही छैन । छोरा प्यारालाइसिस भएर हिँड्न सक्दैन । सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ । नातिनातिना साना छन् । अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ । अहिले खोलामा गड््याङगुडुङ सुरू हुने वित्तिकै खोला आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेतलगायतका मान्छे त्रसित भइहाल्छन् । “तल्लाबगणमा १० परिवार छन्”, महादेव भन्नुहुन्छ, “राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौँ । आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।”

शुक्रबार पनि मध्य रातिदेखि नै नसुतेको उहाँले बताउनुभयो । “निकै वर्षा आएपछि खोलाको किनारामै बसेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो दिन पनि रातभर निन्द्रा नै लागेन । गत वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । “गत वर्ष बाढी आउँदा म त निन्द्रामै थिए”, गिरी भन्नुहुन्छ, “राति सुतेको बेलामा ११ बजेतिर एक्कासि डरलाग्दो सपना देखेर बिउँझिएको त बाढी आएको रहेछ । त्यसपछि भागाभाग भयो ।”

गिरीको पसल र खोला झण्डै १०० मिटर टाढा थियो । घरभन्दा बढी बसाइँ पसलमै हुन्थ्यो । “त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो ।” उहाँकी श्रीमतीले भन्नुभयो, “बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ । भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।” जडारी खोलाले स्थानीयवासीको सर्वस्व लुटेको एक वर्ष भइसकेको छ । तर, पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन् ।

खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशी भन्नुहुन्छ, “अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन । यो पटक छुट्याएका छौँ । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छौँ ।”

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उहाँहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न आफूहरू लागि परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन । घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकाय उच्चसर्तकता अपनाउन भनेका छौँ ।” ( रासस)

सम्बन्धित खबरहरु