न्युयोर्क । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताउनुभएको छ ।

बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका आउनुभएकी उहाँले आफ्नो भ्रमण दलमा रहेका पत्रकाररूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलायत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने स्पष्ट गर्नुभयो । अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन आउनुभएकी उहाँले आफ्ना पूर्ववर्ती कन्जरभेटिभ पार्टीका बोरिस जन्ससन र थेरेसा मेका अडान विपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिनुभएको छैन । युरोपेली सङ्घबाट बाहिरिँदा दुवै प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताउनुभयो । दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकी उहाँले भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुहुनेछ । उहाँहरूबीच गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो ।

राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले अधिनायकवादीहरूका विरुद्ध बेलायत र अमेरिका एकसाथ रहेका तथा सामुहिकरूपमा रूसी आक्रमणविरुद्ध उभिन बेलायत–अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताउनुभयो ।

युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्वव्यापीरूपमा उत्पन्न चुनौती समान गर्न अमेरिकाजसता सहयोगीका साथै फ्रान्स, युरोपेली सङ्घ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको उहाँले बताउनुभयो । बेलायत र अमेरिकाले युक्रेन युद्ध, रूस र चीनप्रति समान धारणा एवम् अडान राखेका छन् । (रासस/एपी)

 

सम्बन्धित खबरहरु