नवलपरासी (पश्चिम) । सुस्ता गाउँपालिका-४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई हरिण (मृग) मारेर ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मुसलवान समेतका ३ जनाले अवैध रुपमा पोथी जातको उक्त मृग मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी नर्सहीबाट खटिएको गस्ती प्रहरीले सुस्ता गाउँपालिका-४ तेह्र नम्बर ठोक्करमा मृत मृग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४५ वर्षीय ईन्द्र कुमार प्रसाईको निर्माणाधीन घरबाट करिब ४ लाख रूपैयाँ मूल्य बराबरका धाराका फिटिङहरु र धाराहरु गएराति चोरी भएको छ ।

उक्त घरको भण्डार कोठाको ताला फुटाई उक्त धाराहरू चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

पहिरोले सडक अवरोध
रोल्पा । त्रिवेणी गाउँपालिका-२ भाङ्गोबारीस्थित घोराहीबाट पूर्वी रुकुम जाने शहिदमार्गमा मंगलबार दिउँसो सुख्खा पहिरो झर्दा सडक अवरोध भएको छ । प्रहरी चौकी नुवागाउँबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सम्बन्धित खबरहरु