कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गोली प्रहारबाट मृत्यु
काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बस्ने सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) को गोली प्रहारबाट सोमबार बेलुकी मृत्यु भएको छ ।

कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट) का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले कृष्णमन्दिर नजिक गोली प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ । हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु