बारा । कलैया नगरपालिका-२३ बस्ने ५० वर्षीया मिना देवी कुर्मीको आफ्नै घरमा दूध तताउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा जलेर सोमबार दिउँसो मृत्यु भएको छ ।

जलेर गम्भीर घाइते भएकी उनको स्थानीय वीरगंज मेडिकल अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु
मोरङ । धनपालथान गाउँपालिका-७ धनपालस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया कलावती मण्डलको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पहिरोले सडक अवरोध तथा क्षति
काठमाडौं । दक्षिणकाली नगरपालिका-८ दक्षिणकालीस्थित काठमाडौं सिस्नेरी सडकखण्डमा सोमबार राति पहिरो जाँदा सडक अवरोध हुनुका साथै सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश सुनारको बा.७८ प ५९९२ नम्बरको मोटरसाइकल पुरिएर क्षति भएको छ । प्रहरी चौकी भण्डारखर्कबाट खटिएको प्रहरीले बाटो खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सम्बन्धित खबरहरु