काठमाडौं । डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिएपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी सरकारले गरेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको हो ।

देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै पक्षले ध्यान र त्यसमै केन्द्रित गर्नका प्रकोप घोषणा गरिन्छ ।

डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले सरकारले डेंगुलाई प्रकोपकै रुपमा घोषणा गरेर नियन्त्रण तथा रोकथामको तयारी गर्न प्रस्ताव गरेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।

केही दिनभित्रै सरकारले डेंगुलाई प्रकोपको रूपमा घोषणा गर्नसक्ने इडीसीडीका अधिकारीहरुको भनाइ छ ।

एक अधिकारीका अनुसार मन्त्रालयमा प्रकोप घोषणाको विषयमा विज्ञहरूसँग छलफल चलिरहेको छ ।

‘अस्पतालहरुमा डेंगुका बिरामी भरिएका छन् । स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् । संक्रमित सँगै मृत्यु हुनेको संख्या बढिरहेको छ,’ ती उच्च कर्मचारीका अनुसार ‘सबै जिल्लामा डेंगु फैलिसकेको छ । अब प्रकोप नै घोषणा गरेर नियन्त्रणका लागि नै राज्यको सबै संयन्त्र एक जुट हुन आवश्यक छ ।’

‘अहिले यस्तो बेलामा पनि प्रकोप घोषणा गरिएन भने अवस्था झन् खराब हुँदै जाने देखिन्छ । संक्रमित संख्या र मृत्युलाई हेर्दा अन्य कुरालाई यथावत राखेर डेंगु नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।

सम्बन्धित खबरहरु