काठमाडौं । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् ।

“बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

म्याग्दीमा आठ मतदानस्थल थप
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ मतदान स्थल थप गरिएको छ । जिल्लामा मतदाताको सङ्ख्या ८६ हजार एक सय २० कायम भएको छ ।

भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएका सहित म्याग्दीमा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र कायम भएका जानकारी दिनुभयो । गत स्थानीय तह निर्वाचनमा ७४ मतदानस्थलमा एक सय १४ केन्द्र थिए । धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई–दुईवटा मतदानस्थल थपिएका हुन् । धवलागिरि गाउँपालिका–४ बगरको कैलाश आधारभूत र वडा नं ७ धारापानीको चन्द्रकुन्ता किसानी माबीमा मतदानस्थल कायम भएको छ ।

मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि र वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयमा पनि मतदानस्थल थपिएको छ । रघुगङ्गा गाउँपालिका–२ खौरेटाको राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र र वडा नं ३ पातल्नाको हिमालय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा रहेको पोखरेबगर आधारभूत विद्यालय र वडा नं ८ को काफलडाँडा आधारभूत विद्यालयमा पनि मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपिएपछि भौगोलिकरूपमा विकट क्षेत्रमा अवस्थित सिम्कोस, बगर, नाउराका बासिन्दालाई मतदानका लागि दुईदेखि तीन दिन समय खर्चनुपर्ने समस्या हटेको छ । कैलाश आधारभूत मतदान केन्द्रमा एक सय ५७ मतदाता कायम छन् ।

आसन्न चुनावका लागि ४२ हजार ५५ पुरुष, ४४ हजार ६४ महिला र एक तेस्रोलिङ्गी मतदाता कायम छन् । गत स्थानीय चुनावमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५६ हजार चार सय ५६ मत खसेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइँसराइ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या काम गरिएको हो । स्थानीय तहको चुनावपछि सात सय ४५ मतदाता थपिएका हुन् ।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् । बेनी नगरपालिकामा २२ हजार एक सय ८५, अन्नपूर्णमा १२ हजार ६८, धवलागिरिमा १० हजार आठ सय ३७, मालिकामा १३ हजार तीन सय ३४, मङ्गलामा १३ हजार चार सय ७७ र रघुगङ्गा गाउँपालिकामा १४ हजार दुई सय १९ मतदाता कायम छन् ।

सम्बन्धित खबरहरु