काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन उहाँले आग्रह गर्नुभएको हो ।

टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उहाँले बताउनुभयो ।

महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा’ विमोचन समारोहमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य राणाले गठबन्धनका कारण सबै ठाउँमा टिकट वितरण गर्न नसकिने नेताहरूका अप्ठ्यारा पनि बुझिदिन आग्रह गर्नुभयो ।

‘गठबन्धनमा रहेका दलहरूले यसअघि जितेका ठाउँमा छाड्नुपर्ने हुन सक्छ। यसो गर्दा धेरै राम्रा व्यक्तिहरूले टिकट नपाउने हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘टिकट वितरणका लागि हुने छलफलमा म त भाग लिन पाउन्न। तर उहाँ (नेताहरूलाई) धेरै गाह्रो छ, धेरै उकुसमुकुस छ।’ सबैले बुझ्नुपर्छ ।

उहाँले पहिले देश, पार्टी अनिमात्र आफूलाई केन्द्रमा राख्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘टिकट पाउनेलाई बधाई। नपाउनेहरू पनि भोट हाल्नतिर लाग्नुस्,’ उहाँले भन्नुभयो, ‘चुनावमा जसले टिकट पाउँछ ऊ व्यक्ति होइन, पार्टी प्रतिनिधि हो।’

कांग्रेसले पाँचदलीय सत्ता गठबन्धनसँग तालमेल गरेर मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको छ। तर अहिलेसम्म प्रत्यक्षतर्फ कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने टुंगो लाग्न सकेको छैन।

सम्बन्धित खबरहरु