मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो । (रासस)

सिञ्जाको विष्टवाडामा प्रसूति सेवा सञ्चालन
जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ । महिलाको स्वास्थ्य सुधार ल्याउने ध्येयले प्रसूती सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

सिञ्जा स्वास्थ्य शाखा संयोजक ललितजङ्ग रोकायाले स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवा विस्तारका उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । यसअघि सो क्षेत्रका गर्भवतीले प्रसूति सेवा तथा एएनसी पिएनसी जाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता थियो ।

गाउँपालिकाले धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट प्रसूति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि गाउँपालिकाकाले उच्च प्राथमिता दिँदै आएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले स्वास्थ्य सस्थामा सुत्केरी हुने व्यवस्था मिलाइएको बताउनुभयो ।

 

सम्बन्धित खबरहरु