काठमाडौं । गायक राजेशपायल राई र अभिनेता नवल खड्का एउटै जिल्लावासी हुन् । दुबै खोटाङ्गका हुन् । चलचित्र ‘प्रेमगीत ३’ ले उनीहरुमापनि शीत युद्ध चलाएको छ ।

पछिल्लो समय टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त राजेशपायलले नवललाई कटाक्ष गरेका छन् । टीभीको पर्दामा पनि उनी बेलाबेलामा आफ्ना विचार राखिरहेका हुन्छन् ।

यतिबेला नेपाली मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ विवादले ‘राई इज किङ’ भनेर चर्चित राजेशपायललाईपनि छोएको छ । राजनीति, समाज र अन्य मामिलामा पनि चासो राखिरहने गायक राजेशपायलले ‘प्रेमगीत ३’ विवादमा मुख खोलेका छन् ।

फेसबुकमा उनी लेख्छन्, ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?’ हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका अभिनेता नवल खड्काले प्रेमगीत ३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोलाएको छलफलमा खड्काले यी कुरा बोले पनि अहिलेसम्म उनी अभिव्यक्तिको अडानमा कायमै छन् । यस्तोमा खड्काको उक्त अभिव्यक्तिलाई चुनौती दिंदै गायक राईले यस्तो स्टाटस लेखेका हुन् ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर पनि अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने बताएको छ । यो विवादलाई लिएर सेलिब्रिटी पक्ष र विपक्षमा विभाजित भइरहेका छन् ।

फिल्मका नायक प्रदिप खड्काले त खुल्ला रुपमा चुनौती दिइरहेका छन् । नवलले नेपाली कलाकारलाई नै चोट पुग्नेगरी अभिव्यक्ति दिएका कारण उनलाई चलचित्र निर्माता संघको अध्यक्ष मान्न नसकिने संघ नै समानान्तर गठन हुने चुनौती प्रदिपको छ । फिल्म निर्माता सन्तोष सेनलेपनि असन्तोष व्यक्त गर्दै हिँडिरहेका छन् ।

 

सम्बन्धित खबरहरु