काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नाइट शो चलाउन सक्ने फिल्म हलको सूची माग गरेका छन् । ‘शान्तिसुरक्षाको मापदण्ड’ पूरा गरेर रात्रिकालीन शोमा फिल्म प्रदर्शन गर्न चाहने हलहरुले नाम दर्ता गराउँन भनिएको छ ।

केसीले सर्तसहित नाइट शो प्रदर्शनको अनुमति दिन सकिने बताए । राति १ बजेसम्म फिल्म प्रदर्शनको अनुमति माग्दै चलचित्र संघले निवेदन दिएको सन्दर्भमा केसीको यस्तो प्रतिक्रिया आएको हो । यसअघि ११ बजे भन्दा पछिसम्म जानसक्ने समयमा हलहरुले शो सञ्चालन नगर्न बोर्डले सूचना नै जारी गरेको थियो । विकास बोर्डको उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो ।

‘शान्ति सुरक्षाको मापदण्ड पूरा गरेर उहाँहरुले हलहरुको सूची दिनुपर्छ । त्यसको पूर्वसर्त भनेको शान्तिसुरक्षा कायम हुनुपर्छ भन्ने हो,’ केसीले भने, ‘सूची आएपछि पहलका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउँछौं ।’

अघिल्ला अध्यक्ष दयाराम दाहालले राति ११ बजेसम्म शो चलाउन दिइने र त्यसपछि चलाउनुपर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने निर्णय गरेका थिए । दाहालको उक्त निर्णयलाई भुवन केसी नेतृत्वको बोर्डले कार्यान्वयनमा ल्याएको थियो ।

दशैंको मुखमै व्यवसायमा अवरोध गरेको भन्दै चलचित्र संघ आक्रोशित छ । आइतबार लेट नाइट शोको अनुमति दिनुपर्ने माग गर्दै संघले बोर्डमा निवेदन दिएको थियो । चलचित्र संघका सदस्य सुरेन्द्र थापाले बोर्डले सूची मागेको विषयमा संघको आगामी बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताए ।

‘कुन–कुन हललाई रात्रि शोको अनुमति दिने भन्ने कुरा संघले छलफल गरेर टुंग्याउँछ,’ उनले भने । शोको यो व्यवस्थालाई लिएर पछिल्लो समय विवाद चर्किरहेको छ । प्रेम गीत ३ चलचित्र आउँने बेलामा नै यस्तो निर्णय गरेर यो चलचित्रलाई प्रभावित गर्न खोजेको आरोप लगाउँदै आइएको छ ।

सम्बन्धित खबरहरु