काठमाडौं । तमिल फिल्म उद्योगबाट एउटा दुखद खबर बाहिर आएको छ । २९ वर्षीया अभिनेत्री पाउलिन जेसिकाको निधन भएको हो । पाउलिन जेसिका दीपाको नामले चर्चित थिइन् ।

यति कम उमेरमा अभिनेत्रीले छोडेपछि तमिल फिल्म उद्योग स्तब्ध भएको छ । जानकारी अनुसार पाउलिन जेसिकाले आत्महत्या गरेकी हुन् । उनी आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

पाउलिनको शव उनको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । उनको शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले अभिनेत्रीको शवसँगै एक नोट फेला पारेको छ ।

पाउलिनले आफ्नो डायरीमा आफ्नो जीवनबाट दुखी भएको कुरा लेखेकी छिन् । उनले आफ्नो डायरीमा आफ्नो मनको पीडा पोख्दै आफूलाई साथ दिने कोही नभएकोले आफूलाई आफ्नो जीवन मन नपरेको कुरा उल्लेख छ ।

पाउलिनले आफ्नो डायरीमा आफू कसैसँग प्रेममा रहेको कुरा लेखेकी छिन् । तर त्यो व्यक्तिले उनको प्रेम स्वीकार गरेन । त्यही कारणले उनले आत्महत्याको बाटो रोजिन् ।

उनको डायरीमा प्रेम प्रशंग आएपछि प्रहरी अधिकारीले प्रेमीलाई खोजिरहेका छन्, ताकि अभिनेत्रीको मृत्युबारे थप जानकारी पाउन सकियोस् । पाउलिनले ‘थुप्परिवलन’ र ‘वैथा’ मा अभिनय गरेकी थिइन् । उनी तमिल सिनेमाकी उदाउँदो कलाकार थिइन् । पाउलिनको मृत्युको खबरले उनको परिवार र साथीहरू सबै स्तब्ध छन् ।

 

सम्बन्धित खबरहरु