काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपतिको कदमलाई उहाँले संविधान नै असफल बनाउने षड्यन्त्र भएको दावी गर्नुभएको छ ।

आज ट्वीट गर्दै वाग्लेले भन्नुभयो, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उहाँको कदमको आलोचना भइरहेको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुले त संसदमाथीको घोर अपमान र संविधानको गम्भीर उलंघन भनेका छन् । केही विश्लेषकहरुले भने राष्ट्रपतिले राष्ट्रियता नै बचाउँने काम गरेर अभिभावकीय भूमिका निर्वाह गरेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबरहरु