काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा असोज ५ गते रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित धर्ना प्रदर्शन गरेको छ ।

काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुस : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, रुस : युद्ध रोक, शान्ति प्रवद्र्धन गर, रुस : युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, पूर्व उपसभापति रेनुका पौडेल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति सञ्जोग चाम्लिङ, दाङ शाखा सभापति नविन पोख्रेल, शान्तिवादीहरु गीता तिमल्सिना, ईश्वर पुडासैनी, जयराम पुडासैनी, नानीकाजी गिरी, रुपा गिरी, रमेश बराल, तुलसीराम भण्डारी, विकास थापा, दिवाकर पुडासैनी, बद्री पुडासैनी, राजेन्द्र खनाल, दुर्गा सापकोटा, रेजीना राईसहित तीन दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।

धर्ना पश्चात रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी राजदुतासबासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै असोज ५ गते शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाहरुले धर्ना प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्धविराम मार्फत शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिन्छ ।

 

सम्बन्धित खबरहरु