काठमाडौं । काठमाडौंको कपन आनी गुम्बा नजिकै भीषण आगलागी सुरु भएको छ ।

एक घरमा ठूलो आवाजमा विस्फोट सहित आगलागी भइरहेको हो । घरमा मानिसको चिच्याहट सुनिन्छ । अझै अग्निनियन्त्रक (दमकल) पुगेको छैन । आगोले उग्र रुप लिने दिखिन्छ ।

आज नै ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका–७ सिस्टिङ बस्ने चन्द्र बहादुर बस्नेतको घरमा चुलोमा बालेको आगो सल्किएर आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनकुटा, चौबिसे गाउँपालिका–१ पोखरी बस्ने आईतवीर मगरको घरमा अचानक विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा घर, ३० हजार रूपैयाँ नगद, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, बेलका नगरपालिका-२ नारायाणपुर टोल बस्ने ३५ वर्षीय रामेश्वर सदाको घरमा मंगलबार साँझ अचानक आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुनचाँदी र नगद समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आजै ललितपुर बागडोल नगरपालिका-३ स्थित बच्चा साहको कागतको कवाडी गोदाममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा ३ जना जलेर घाइते भएका छन् । घाइते हुनेहरुमा भारत घर भएका ६५ वर्षीय शिव नारायण पोदार, ४५ वर्षीय राम आशिष साह र चितवन घर भएका ३० वर्षीय गणेश गुरुङ्ग रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र ललितपुर महानगरपालिका समेतको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घाइतेहरुलाई उद्धार गरी उपचारको लागि स्टार अस्पताल सानेपामा लगेको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु