किरण थापा, मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ ।

इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उहाँको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उहाँले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्नुभएको छ । व्यावसायिकरुपमा सञ्चालित फाममा उहाँले केही सहयोगीहरु राख्नुभएको छ । तर पनि उहाँलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उहाँलाई फार्ममै भेट्न सकिन्छ ।

सशस्त्र प्रहरीमा कार्यरत उहाँले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोड्नुभयो । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभयो । उहाँलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाउनुभएन । “म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उहाँले नेपालमै केही गर्ने सोच बनाउनुभयो । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गर्नुभयो । सामाजिक सञ्जालमा बढी चाख राख्ने उहाँले त्यहीँबाट बाख्रापालनका बारेमा सिक्नुभयो ।

गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिनुभयो । त्यसले पनि उहाँलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित ग¥यो । सुरुमा रु एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गर्नुभयोे । उहाँको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उहाँले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा भँैसी र एउटा गाई पनि पाल्नुभएको छ । व्यावसायिक पशुपालनबाट अहिले मासिक रु ६०÷७० हजार आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उहाँको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उहाँले रु २४ लाख लगानी गरिसक्नुभएको छ । “आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने रु ४० लाख लगानी भएको छ”, उहाँले भन्नुभयो । कतिपय आफैँले गर्नसक्ने कामहरु उहाँ आफैँ पनि गर्नुहुन्छ ।

जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।

उहाँले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिनुभएको छ । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उहाँलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउनुहुन्छ । “उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु”, उहाँले थप्नुभयो । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उहाँको भनाइ छ ।

स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उहाँ बताउनुहुन्छ । बाख्रा सँगसँगै कुखुराबाट पनि उहाँले राम्रो आम्दानी गर्नुभएको छ । दश पटक ब्रोइलर कुखुरा बेच्दा रु छ लाख फाइदा भएको उहाँको भनाइ छ । उहाँले १८ महिनाको अवधिमा रु १३ लाख आम्दानी गरिसक्नुभएको छ । उहाँले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् ।

बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । “दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ”, उहाँले भन्नुहुन्छ ।

कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उहाँले लगाउनुभएको छ । आफूलाई खान पुग्ने तरकारी आफँै लगाउनुभएको छ । उहाँको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उहाँले च्याउखेतीसमेत गर्नुभएको थियो । च्याउबाटसमेत रु ८० हजार आम्दानी भएकोे उहाँ बताउनुहुन्छ । “भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो”, उहाँले भन्नुभयो ।

मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उहाँले बताउनुभयो । व्यवसायमा उहाँलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । “हामी श्रीमान् श्रीमती मिलेर काम गर्छाैं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ”, उहाँले भन्नुभयो, “म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।” उहाँहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गर्नुभएको छ । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गर्नुभएको छ । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ ।

सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताउनुभयो । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उहाँको भनाइ छ ।

“कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उहाँको तर्क छ । (रासस)

सम्बन्धित खबरहरु