काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको घोषणाको विरोधमा रुसका जनता सडकमा निस्केका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाउने र हतियारमा लगानी बढाउने बताएपछि जनता विरोध गर्दै सडकमा निस्केका हुन् ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओभीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ ।

राजधानी मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै जना पक्राउ परेका छन् । यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गबाट दर्जनौं मानिसलाई पक्राउ गरेको छ । पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानको बुकिङमा उल्लेख्य वृद्धि भएको बताइन्छ ।

केही समयपछि एउटै उडानमा पनि ठाउँ बाँकी थिएन । मस्कोको अभियोजकको कार्यालयले बुधबार चेतावनी दिदैँ इन्टरनेटमा अनाधिकृत विरोध प्रदर्शनको लागि बोलाउँदा वा सहभागी भएमा १५ वर्षसम्म जेल सजाय हुन सक्ने जानकारी गराएको थियो ।

पुटिनले गत बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरे, जसको अर्थ तीन लाख आरक्षित सेना पठाउने रहेको छ । पुटिनले आफ्नो टेलिभिजन सम्बोधनमा रुसको क्षेत्रीय अखण्डतालाई कायम राख्न आफूले उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताएका हुन् ।

पश्चिमी विश्वमा पुटिनको यो भनाइलाई आणविक हतियारको प्रयोग भनेर व्याख्या गरिएको छ । युक्रेन र उनका सहयोगीहरूले पुटिनको भनाइको निन्दा गरेका छन् ।

सम्बन्धित खबरहरु