काठमाडौं । कर्म गर्ने तर फलको आश नगर्ने मान्यता सबैको हुन्छ । तर कहिलेकाँही भाग्य चम्केपछि नसोचेको परिवर्तन देख्न पाइन्छ ।

यस्तै, दुबईमा कार धुने काम गर्ने एक नेपालीको भाग्य परिवर्तन भएको छ । मासिक १,३०० दिराम कमाउने दुई सन्तानका पिता ३१ वर्षीय नेपालीको जीवन ९४औँ महजुज साप्ताहिक र्‍याफल ड्रमा १० लाख दिरामको चिठ्ठा जितेपछि रातारात परिवर्तन भएको हो ।

शीर्ष पुरस्कार विजेता भरतले आफ्नो नाममा बैंक खाता समेत नभएको बताए । उनले जितेको उक्त रकम नेपाली ३४ करोड ५० लाख नेपाली रुपैयाँ बराबर हुन जान्छ ।

बुधबार चिठ्ठा जितेपछि उनले आफूमा उत्साह अत्यधिक भएको जानकारी गराए । उनलाई महजुजका अपरेटर इविङ्ग्सका सीईओ फरीद सामजीले प्रतीकात्मक चेक दिएका हुन् ।

भरतले भने, ‘यो पुरस्कार (डीएच१० मिलियन) ले मलाई धेरै कुराहरू हासिल गर्न सक्षम बनाउँछ । यसले धेरै मानिसहरूको जीवन परिवर्तन गर्नेछ । म मेरो धितो र अन्य ऋणहरू जतिसक्दो चाँडो तिर्न तत्पर हुनेछु ।’

अर्कोतिर, अहिले करोडपति भए पनि भरतले आफू सादा जीवन बाँच्ने बताए । उनले थप्दै भनेका छन्, ‘मेरो लागि पाँच र तीन वर्षका दुई छोराछोरीको भविष्य सेट गर्नु महत्त्वपूर्ण छ ।’ उक्त चिठ्ठालाई उनले एक अविश्वसनीय चीज भनेका छन् ।

गल्फ न्युजका अनुसार पाँच विजयी नम्बरहरू (१६, २७, ३१, ३७, ४२) मिलाउने भरत शीर्ष पुरस्कार जित्ने पहिलो नेपाली र समग्रमा २८औँ महजुज करोडपति हुन्, जसमध्ये ६ जनालाई यस गर्मीमा जुन र सेप्टेम्बरको बीचमा उक्त चिठ्ठा परेको थियो ।

महजुजको तर्फबाट बोल्दै सामजीले भने, ‘हामीले महजुजमा नियमित रूपमा सहभागी हुने नेपाली समुदायमा अभूतपूर्व उत्साह देखिरहेका छौं । अहिलेसम्म महजुजका विजेताहरूमध्ये ३,२०० भन्दा बढी भाग्यशाली नेपाली सहभागी भइसकेका छन्, जसमध्ये २८ ले प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका छन् ।’

 

सम्बन्धित खबरहरु