बीबीसी । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ।

रुसी मानवअधिकार समूह ओभीडी-इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्।

इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ।

पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्। उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ।

जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ। रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो।

युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न "सबै उपलब्ध साधनहरू" आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ।

प्रदर्शनकारीलाई कडा चेतावनी
मस्को अभियोजनकर्ता कार्यालयले बुधवार अनधिकृत सडक आन्दोलनमा सामेल हुन इन्टरनेटमा आह्वान गर्ने वा त्यसमा सहभागी हुनेलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिएको छ।

त्यस्ता व्यक्तिलाई सेनालाई बदनाम गरेको, युक्रेनमा रुसी सैन्य कारबाहीबारे "झूटो समाचार" फैलाएको वा नाबालिगलाई विरोध गर्न प्रोत्साहित गरेको आरोपमा कानुन अन्तर्गत मुद्दा चलाउन सकिने उसले जनाएको छ।

युक्रेन युद्धबारे "गलत सूचना" फैलाउने विरुद्धको कडा रुसी दण्ड र पुटिन विरोधीमाथि भएका प्रहरी दमनका कारण रुसमा सार्वजनिक युद्धविरोधी प्रदर्शनहरू दुर्लभ भएका छन्।

तर युद्ध विरोधी विपक्षी समूह भेस्नाले व्यापक विरोध प्रदर्शनका लागि आह्वान गरेको छ र उसले टेलिग्राममा रुसभरि भएका धेरै गिरफ्तारीहरूको जानकारी दिएको छ। येकातेरिनबर्गको एक भिडियोमा प्रहरीले हिंसात्मक रूपमा प्रदर्शनकारीलाई बसमा राखेको देखाइएको छ।

भेस्नाले आफ्नो कार्यलाई "नो टु मोगिलाइजेशन" भनेको छ। त्यो भनेको उसले शब्दमा खेलेको हो किनकि रुसी भाषामा"मोगिला"को अर्थ चिहान हुन्छ। रुसी मानव अधिकार समूह अगोराका वकिल पाभेल चिकोभले अगोराले मंगलवार बिहानदेखि आफ्नो हटलाइनमा सोधपुछका लागि ६ हजार कल प्राप्त गरेको बताए।

उनका अनुसार रुसीहरूले सैनिकका अधिकार बारेमा जानकारी मागिरहेका थिए। यसैबीच टर्कीको इस्तानबुल र आर्मेनियाको येरेभान जस्ता लोकप्रिय गन्तव्यमा उडानहरू घटाइएका छन् र बाँकी सिटहरूको मूल्य आकासिएको छ।

पुटिनको घोषणापछि मस्कोबाट इस्तानबुल वा दुबईसम्मको उडानको इकोनोमी क्लासको भाडा एकतर्फी ९,११९ डलर पुगेको एसोसिएटेड प्रेसले जनाएको छ।

'सबै डराएका छन्'
किएभका सेनाले खार्किभ पूर्वको ठूलो क्षेत्रमा पुन: नियन्त्रण गरेसँगै त्यहाँ व्यापक नोक्सानी बेहोरेपछि क्रेमलिनले सेना परिचालनको पछिल्लो कदम चालेको हो।

राष्ट्रपति पुटिनको राष्ट्रिय सञ्चारमाध्यममा रहेको नियन्त्रणले धेरै रुसीले युक्रेनको "नव-नाजी" सरकार नथा नेटोले रुसलाई धम्की दिएको र युक्रेनमा रहेका जातीय रुसीहरूको रक्षा गर्नुपर्ने उनको दाबीलाई समर्थनको सुनिश्चितता गरेका छन्। तर युक्रेनको सरकार लोकतान्त्रिक रूपमा निर्वाचित भएको थियो र त्यसमा कोही पनि अतिवादी राजनीतिज्ञहरू छैनन्।

युक्रेन मामिलामा क्रेमलिनको विरोधको मापन गर्न कठिन छ किनकि सञ्चार प्रतिबन्धहरू कडा छन्। अब सैन्य परिचालनका लागि व्यवस्थापन गर्नुपर्ने जिम्मा पाएका रुसका पुटिन समर्थक क्षेत्रीय गभर्नरहरूले क्रेमलिनको समर्थन गरेका छन्।

"हामी कमजोर, विभाजित वा विनाश हुने छैनौँ," उल्यानोभस्कका गभर्नर अलेक्सी रुस्किखले भने। "हाम्रो क्षेत्रको पनि हाम्रो देशका अन्य सबैतिरको जस्तै नागरिकलाई सैन्य सेवाका लागि परिचालन गर्नु कर्तव्य हो।" चेल्याबिन्स्कका गभर्नर अलेक्सी टेक्सलरले रुसको "सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता" सुनिश्चित गर्न सैन्य परिचालन आवश्यक भएको बताए।

तर युवा रुसी पुरुषहरूले बीबीसीलाई उक्त आह्वानबारे आफूहरू त्रसित भएको बताए।सेन्ट पिटर्सबर्गका माट्भेले भने, "मलाई आशा थियो कि यस्तो कहिल्यै हुने छैन।" "अब यो स्पष्ट छ- पुटिन पछि हट्ने छैनन् र उनले अन्तिम रुसी नागरिक बाँकी रहेसम्म आफ्नो मूर्ख लडाइँ जारी राख्नेछन्।"

उनले भने, "म सैन्य परिचालनको यो चरणमा भर्ती हुनु पर्दैन तर कुनै ग्यारेन्टी छैन कि अवस्था अझै खराब हुने छैन।" यूकेमा बसोबास गर्ने ३१ वर्षीय रुसी इभ्गेनीले बीबीसीलाई भनिन्, "सबैजना डराउँछन्, सबैले सैन्य परिचालनबारे विभिन्न खाले सूचनाहरू पठाइरहेका छन्। के सही र झूट भनेर पत्ता लगाउन धेरै गाह्रो छ। कसैलाई पनि सरकारको विश्वास छैन।"

जेलेन्स्की के भन्छन्
युक्रेनमा आक्रमण गरेकोमा रुसले "न्यायिक सजाय" भोग्नैपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घीय महासभालाई बताएका छन्। पहिले नै रेकर्ड गरिएको भिडिओमा उनले एक विशेष 'वार ट्रिब्युनल' गठनको आह्वान गरे र रुसद्वारा गरिएको भनिएका युद्ध अपराधको विस्तृत जानकारी दिए।

उनले शान्तिका लागि युक्रेनलाई थप सैन्य सहयोग दिनुपर्ने र रुसलाई विश्व मञ्चमा दण्डित गर्नुपर्ने बताए।युक्रेनी राष्ट्रपतिको सम्बोधनलाई उक्त सत्रमा उपस्थित धेरैले उभिएर ताली बजाएका थिए।

आफ्नो परिचयात्मक टिप्पणीमा जेलेन्स्कीले रुसले "अवैध युद्ध"मार्फत "विनाशकारी अशान्ति" निम्त्याएको आरोप लगाए। पुटिनले जगेडा सैनिकहरूलाई परिचालन गर्ने घोषणा गरेकै दिन जेलेन्स्कीले बोलेका थिए।

उनले पुटिनको पछिल्लो कदमलाई सङ्केत गर्दै त्यसले रुस शान्ति वार्ताप्रति गम्भीर नभएको देखाएको बताए। जेलेन्स्कीले रुसमा सामेल हुने रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रको जनमतसङ्ग्रहको घोषणाको पनि निन्दा गरे।

उक्त योजनालाई मङ्गलवार संयुक्त राष्ट्रसङ्घमा पश्चिमी नेताहरूले पनि निन्दा गरेका थिए। उनले आफ्नो मन्तव्यमा रुसलाई "दण्डित गर्नुपर्ने" भन्ने शब्द करिब १५ पटकसम्म प्रयोग गरेका थिए।

सम्बन्धित खबरहरु