काठमाडौं । २०७२ सालमा नेपालमा गएको विनाशकारी महा–भूकम्पमाथि नेटफ्लिक्सले फिल्म ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ निर्माण गरेको छ । फिल्मको पहिलो सिजनको ट्रेलर सार्वजनिक भएको छ ।

डकुसिरिज जनरामा राखिएको यो श्रृंखला तीन सिजनसम्म निर्माण भएको हो, जसलाई बेलायती फिल्ममेकर अली लाम्बार्टले निर्देशन गरेका छन् ।

कोरोना महामारीको समयमा २५ जना अर्थक्वेक सर्भाइभरसँगको संवादमा आधारित सिरिजको ट्रेलर मर्मस्पर्शी र सशक्त देखिन्छ । डकुमेन्ट्रीको नेपाली निर्माताको रुपमा फिल्ममेकर एवं महिला अधिकारकर्मी पूजा पन्त छिन् ।

सबैजसो प्राविधिक नेपाली रहेको फिल्मको नेपाल छायांकन चाहिं विष्णु कल्पित र विकिल स्थापितले गरेका हुन् । ‘भूकम्पको समयको फुटेजलाई समावेश गरिएको छ । स्टुडियो बनाएर पनि खिचेका छौं,’ निर्मात्री पन्तले जानकारी दिएकी छिन् ।

काठमाडौं, लाङटाङ र सगरमाथा क्षेत्रमा फिल्म छायांकन गरिएको हो । पहिलो सिजन दशैं टीकाको भोलिपल्ट अर्थात् असोज २० गते (अक्टोबर ६) मा नेटफ्लिक्समा डकुसिरिज रिलिज हुँदैछ ।

२०७२ वैशाख १२ गते र २९ गते गएको शक्तिशाली भूकम्पमा परी नेपालमा झण्डै १० हजार जनाले ज्यान गुमाएका थिए भने लाखौं घर क्षतिग्रस्त बनेका थिए ।

सम्बन्धित खबरहरु