काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई अबिर तथा खादा लगाएर स्वागत गर्नुभयो ।

पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा एमाले युवा नेता महेश बस्नेतसँग जोडिनुभएको थियो । उहाँ यसअघि नै एमालेमा आउँने चर्चा थियो । तर चुनावको मुखमा मात्र आउँनुभयो ।

खनालले एमाले प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताउनुभयो । ‘एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु । आम नेपालीको अपेक्षा, देश विदेसको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु’ उहाँले लेख्नुभएको छ ।

२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालिन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको चर्चा छ । त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो ।

सम्बन्धित खबरहरु