
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा बुधवार बियर बोकेको ठूलो ट्रक पल्टिदाँ हजारौँ क्यान बियर पोखिएपछि एउटा राजमार्ग नै अवरुद्ध भएको छ । बियर बोकेको उक्त सेमी ट्रेलर सडकका छेउमा रहेका ट्रकहरूमा गएर ठोक्किएको थियो ।
हजारौँ क्यान पोखिएपछि राजमार्गको सबै लेन बन्द भयो । फ्लोरिडाको हाइवे पेट्रोलले लिएको तस्बिरहरूमा छरपस्ट बाकस तथा क्यानहरूका कारण सडक नै पुरिएको देख्न सकिन्छ । केही घण्टापश्चात् बल्ल राजमार्ग खुलेको थियो ।
घटनामा केही मानिस सामान्य घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम ट्याम्पा बे टाइम्सका अनुसार व्यस्त राजमार्गमा दुईवटा सेमी ट्रेलर जुधेका कारण तिनलाई बुधवार बिहानै सडकको किनारामा राखिएको थियो ।
थप दुईवटा सेमी ट्रेलर तथा एउटा पिकअप ट्रकलाई ती गाडी तान्न त्यहीँनेर राखिएको थियो । त्यतिनै बेला बियरले भरिएको पाँचौँ सेमी ट्रेलर त्यहा आइपुग्यो ।
तीव्र गतिको उक्त गाडी समयमै रोकिन नसक्दा त्यही पार्क गरेर राखिएका गाडीमा ठोक्किन पुग्यो । बियरका साथसाथै अर्को ट्रकमा भएका कंक्रिट पनि सडकभरि पोखिएको थियो । बीबीसी