काठमाडौं । बलिउड अभिनेत्री तनुश्री दत्ता भारतीय चलचित्र उद्योगमा आफ्नो पहिचान बनाएर गुमनाम हुने कलाकारहरुमध्य एक हुन् । आफ्नो कामका कारण चर्चामा आएकी उनी वर्षौंपछि अभिनेता नाना पाटेकर आफूमाथि यौन दुव्र्यवहारको आरोप लगाएर चर्चामा आएकी थिइन् ।

भारतमा मीटु अभियान सुरु गर्ने सम्पूर्ण श्रेय तनुश्री दत्तलाई दिइन्छ । सन् २०२० मा, उनले एक फिल्मको सेटमा आफूमाथि भएको यौन उत्पीडनको बारेमा खुलेर बोलेकी थिइन् । त्यसपछि विभिन्न उद्योगका धेरै महिलाहरूले आफूमाथि भएको यौन दुर्व्यवहारको खुलासा गरेका थिए ।

आफ्नो अनुभवका बारेमा खुलेर कुरा गरेपछि अहिले तनुश्री फेरि चर्चामा छिन् । वास्तवमा उनले आफूले अन्यायबारे खुलेर कुरा गरेपछि आफूलाई मार्न पटक पटक प्रयास भएको दाबी गरेकी छिन् ।

हालै, तनुश्री दत्तले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा यस्तो खुलासा गरेकी हुन् । उनले भनेकी छिन्, ‘जब म उज्जैनमा थिएँ, मेरो कारको ब्रेकमा एक–दुई पटक समस्या आएको थियो । मेरो निकै नराम्रो दुर्घटना भयो । मेरो हड्डी भाँचिनबाट जोगियो । त्यस दुर्घटनाले मलाई केही महिनाको लागि रोकेको थियो । किनभने मेरो चोटहरू पूर्ण रूपमा निको हुन समय लाग्यो । मैले धेरै रगत गुमाएँ ।’

आफ्नो कुरालाई अगाडि बढाउँदै तनुश्रीले आफूलाई पटकपटक विष पिलाउने प्रयास भएको पनि बताइन् । तनुश्रीले भनिन्, ‘मेरो घरमा काम गर्ने एक जना कामदार थिइन् । उनी आएपछि, म बिस्तारै बिरामी हुन थाले । त्यसैबेला मलाई पानीमा केही मिसाइएको शंका लाग्न थाल्यो ।’

यस वर्षको सुरुमा तनुश्रीले सामाजिक सञ्जालमार्फत आफू फिल्ममा कमब्याक गर्ने प्रयास गरिरहेको दाबी गरेकी थिइन् । तर उनले आफ्नो प्रयासलाई विफल पार्दै आत्महत्यातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएकी छिन् ।

बलिउड अभिनेता इमरान हाश्मीसँग इन्टिमेट सीन दिएर चर्चामा आएकी अभिनेत्री तनुश्री दत्ता यतिबेला ठूलो पर्दाबाट टाढा छिन् । तर, उनी सामाजिक सञ्जालमा निरन्तर सक्रिय छिन् । मीटु आन्दोलनपछि चर्चामा आएकी तनुश्रीले बलिउड र त्यस उद्योगका कलाकारलाई निरन्तर निशाना बनाइरहेकी छिन् ।

यसअघि पनि तनुश्री दत्तले सामाजिक सञ्जालमा एउटा अचम्मको पोस्ट गरेकी थिइन् । तनुश्री दत्तले लेखेकी थिइन्, ‘के तपाईंले देख्नुभएको छ, सबै बलिउड माफिया उत्पीडकहरू या त अविवाहित छन् वा सम्बन्धविच्छेद भएका छन् ?

त्यहाँ धेरै थोरै व्यक्तिहरु छन् जो अझै विवाहित छन्, तर तिनीहरू पनि दुखी छन् । उनीहरूका जीवनसाथी र छोराछोरीहरूले उनीहरूलाई घृणा गर्छन् । कुनै राम्रो महिला उनीहरूसँग कहिल्यै बस्दिनन् । किनभने तिनीहरू अरूलाई राम्रोसँग व्यवहार गर्न जान्दैनन् ।’

 

सम्बन्धित खबरहरु