काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिले सशक्त संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको भन्दै जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले विज्ञप्तिमार्फत संघर्षको कार्यक्रम घोषणा गरेको जानकारी दिनुभएको छ ।

असोज ६ गते बसेको जसपा मधेस प्रदेश समितिले बैठकमा भएको निर्णय अनुसार राष्ट्रपति भण्डारीविरुद्ध असोज ८ देखि १७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको मुख्य सचिव यादवले उल्लेख गर्नुभयो ।

मुख्यसचिव यादवले मधेसका आठै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै असोज ८ गते नागरीक समाज, बुद्धिजीवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानून व्यवसायी, पेशाकमी तथा अन्य सरोकारवालाहरुबीच अन्तरक्रिया गर्न भनिएको छ ।

यस्तै असोज ११ गते जिल्लाको सदरमुकामहरूमा भ्रातृसंगठनहरूद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन गर्ने, असोज १३ गते जनप्रतिनिधिलाई विधेयक र अध्यादेशबारे जानकारी गराउने र असोज १४ जनतालाई विधेयक र असोज १५ देखि १७ गतेसम्म सबै पालिका तथा वडास्तरीय भेला गरी राष्ट्रपतिले चालेको कदम तथा विधयेकको बारेमा जानकारी गराउने परिपत्रमा उल्लेख छ ।

सम्बन्धित खबरहरु