काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा सक्रिय राजनीतिमा आउँने आँकलन धेरैले गरिरहेका छन् । यही बेला एमालेका युवा नेता गोकुल बास्कोटाले पहल नै थाल्नुभएको छ । उहाँले राजनीतिमा फर्काउनुपर्ने धारणा मात्र राख्नुभएको छैन पहल समेत थाल्नुभएको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सीधै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने टिप्पणी गर्नुभएको छ ।

एमालेभित्र कुनै विषयमा विचार निर्माण गर्ने सन्दर्भमा बाँस्कोटाका अभिव्यक्ति तथा उहाँले उठाएका विषय निर्णायक हुने गरेका छन् । पछिल्लो समय उहाँले प्रादेशिक संरचनाको औचित्यमाथि समेत प्रश्न उठाउँदै आउनुभएको छ ।

उहाँको अभिव्यक्तिलाई एमालेको धारणा हो की भनेर बुझ्ने गरेकोपनि पाइन्छ । कुनै समय अध्यक्ष केपी शर्मा ओलीका अति विश्वास पात्र मानिनुभएका बास्कोटाका अभिव्यक्तिलाई एमालेको रणनीतिमा जोडेर हेर्ने गरिन्छ ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने भनी विषय उठाउन थाल्नुभएको छ ।

बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीतिक गर्नु हुँदैन भन्ने कानूनी व्यवस्था नरहेको र राजनीतिबाट उहाँहरू राष्ट्रपति बन्ने भन्दै रामवरण यादवले पनि आफ्नो मान्यता अनुरूपको राजनीति गरिरहेको धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानूनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन् । एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन् । मेरो सीधा मत छ वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’

सम्बन्धित खबरहरु