सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई १ लाख रुपैयाँ दिने भएको छ ।

छात्राहरुलाई पढाईमा उत्प्रेरणा दिनका लागि विवाह गर्नु अगाडि नै स्नातक तह उतीर्ण गर्नेलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सोही गाउँपालिकामा प्राथमिक विद्यालयमा अध्ययनरत हुँदै विवाह गर्ने प्रचलन बढी देखिएको छ ।

स्नातक तह अध्ययन पूरा गरेर विवाह गर्ने सबै छोरीलाई गाउँपालिकाले एकमुष्ट रु १ लाख दिने निर्णय भएपछि छोरीको पढाईमा राज्यले ध्यान दिएको भन्दै सर्वत्र चर्चा चलिरहेको छ ।

यहाँ छिटो विवाह गर्ने चलरन रहेकाले विवाह गर्नु अगाडि नै स्नातक तह उत्तीण गर्ने छात्राहरुलाई सोही रकम दिने कार्यक्रम पारित गरिएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनुभयो । छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न थप उर्जा मिलोस भन्ने उदेश्य राखिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले एसईई उतीर्ण गरी कक्षा ११ मा भर्ना हुने प्रत्येक छात्राहरुलाई साइकल दिने निर्णय समेत गरेको छ । शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको समेत चौमासिक बैठक बोलाउने व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम उपलब्ध गराएर दैनिक विद्यालयको अनुगमन नियमन गर्नुपर्ने व्यवस्था समेत गरेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबरहरु