
काठमाडौं । लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ ।
लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन् ।
पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोपबाट मृत्यु बढ्दै
बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेङ्गुको प्रकोप थप बढेको यहाँका अधिकारीहरुले जनाएका छन् । पाकिस्तानका अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको जनाएका छन् ।
पाकिस्तानको सिन्ध प्रान्त डेङ्गुबाट बढी प्रभावित देखिएको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएको सो प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।
यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट कम्तीमा पनि ३० जनाको ज्यान गएको सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ डेङ्गुबाट गएको २४ घन्टा यतामात्र यहाँका चार सय दुइ जनालाई डेङ्गु लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची हो । कराँचीमा मात्र गएको २४ घन्टामा दुई सय ७९ जनामा यसको सङ्क्रमण देखिएको छ ।
सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन् । बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।
सेप्टेम्बर महिनामा मात्र सिन्धमा चार हजार तीन सय भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।
पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।