काठमाडौं । मकवानपुर, भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकमा कुलेखानीबाट भिमफेदीतर्फ आउँदै गरेको ना.३ ख ७८५८ नम्बरको मिनीबस आफै अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खस्दा हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्रदेश ०३००१ज ०२७१ नम्बरको सुमोमा समेत ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बसमा सवार बारा झिटकैया-४ बस्ने ३३ वर्षीय अन्दुलाहा मियाँ ठकुराई सहित ६ जनाको घटनास्थलमै र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरुमध्ये ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवन, २ जनाको सहकारी अस्पताल हेटौंडा, १ जनाको सन्चो अस्पताल हेटौंडा र १३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम पूर्व, भूमे गाउँपालिका-२ खावाङ बगरस्थित सडकमा काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग.१ ख ५१०९ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बस चालक रामेछाप घर भई कास्की पोखरा बस्ने २६ वर्षीय लिला भक्त श्रेष्ठ सहित ३ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ५ जनाको ओईस्टन अस्पताल, १ जनाको जिल्ला अस्पताल र ४ जनाको नर्सिङहोम नेपालगंजमा उपचार उपचार भइरहेको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

गोरखा, अजिरकोट गाउँपालिका-२ वालाङमा ग.१ त ४५७४ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सिरान्चोक गाउँपालिका-४ छोप्राक बस्ने २७ वर्षीय बिक्रम श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

चितवन, भरतपुर महानगरपालिका-९ टिकौलीमा ना.७ ख ३७२३ नम्बरको तेल बोक्ने ट्याङकरले बा.८३ प ५५३ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दँदा स्कुटर चालक भरतपुर महानगरपालिका-९ बस्ने ६२ वर्षीय प्राण जवाराको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुला, अपिहिमाल गाउँपालिका-५ गोगनपानीमा म.१ ज २३३ नम्बरको यात्रुबाहक जिप उकालोमा ब्रेकफेल भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-६ बस्ने १८ वर्षीय दिनेश धामीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडी साहु र चालकलाई ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि लटिनाथ स्वास्थ्य चौकी पठाएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-१६ स्थित उल्टा पानी भन्ने नालामा से.१ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४३ वर्षीय हरी प्रसाद चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।

स्याङ्जा, वालिङ नगरपालिका-८ केदारनाथमा ग.१३ प ५२३२ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही नगरपालिका-१३ पाठेखोला बस्ने ५६ वर्षीया गोमाता पाठकको बिहीबार राति मृत्यु भएको छ ।

मोटरसाइकलबाट लडर गम्भीर घाइते भएकी उनको प्रथामिक स्वास्थ केन्द्र वालिङ हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक उद्दार एवं अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु