काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ ।

गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रिन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो ।

यस मस्जिदमा अहिले तालिबानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन् ।

राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा सञ्चालन गर्ने गैरसरकारी संस्था, इमर्जेन्सीले विस्फोटमा परी १४ जना हताहत भएको जनाएको छ ।

“तीमध्ये चार जनाको अस्पताल पुग्नु पहिले नै मृत्यु भइसकेको थियो,” इमर्जेन्सीले ट्वीटरमा भनेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुष्ट तस्वीरमा मस्जिद बाहिरको सडकमा एउटा कारमा आगो लागेको देखिएको छ ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले विस्फोट र ‘हताहत’ भएको पुष्टि गर्दै विस्तृत विवरण अनुसन्धानपछि मात्र दिन सकिने बताउनुभयो ।

सन् २०२० मा पनि सोही मस्जिदमा बम विस्फोट हुँदा मुस्लिम धर्मगुरू ‘इमाम’को मृत्यु भएको थियो ।

तालिवान सत्तामा फर्किएसँगै युद्ध समाप्त भएपछि अफगानिस्तानमा समग्र हिंसामा उल्लेखनीय कमी आएको छ भने काबुल र अन्य शहरहरूमा बम आक्रमणका घटना भने यदाकदा भइरहेका छन् ।

यी आक्रमणहरूमा धेरै मस्जिद र मौलवीहरूलाई निशाना बनाइएको छ, जसमध्ये केहीको जिम्मेवारी जिहादी इस्लामिक स्टेट समूहले लिएको छ ।

यसै महिनाको सुरुमा रुसी दूतावासका कार्यालयबाहिर भएको आत्मघाती बम विस्फोटमा दुई जना रुसी दूतावासका कर्मचारीको मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु