जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ ।

जनकपुर विमानस्थलबाट जनकपुर–जयनगर रेल चढ्न जाने क्रममा उहाँलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

जनकपुर विमानस्थलबाट ओली गाडिमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरुलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

ओली सवार गाडि अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्नेहरुलाई साइड लगाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताउनुभयो । ओलीलाई रेल्वे स्टेसन नजिक पनि केही युवाहरूले कालो झण्डा देखाउँने प्रयास गरेका थिए । तर, प्रहरीले रोकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा नेकपा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेसका दलहरुले विभिन्न जिल्लामा विरोध गरिरहेका छन् । उनीहरुले आन्दोलन र विरोधका कार्यक्रम नै सार्वजनिक गरेका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली महिनाथपुर स्टेशनसम्म रेल चढेर पुग्नुभएको छ ।

यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरुको समूहले कालो झण्डा देखाएका थिए ।

सम्बन्धित खबरहरु