काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँग अब एकसाथ अघि जानेगरी सहमति भएको खुलाउँनु भएको छ ।

उहाँले चुनावका लागि मात्र नभएर सहकार्य धेरै लामो हुने बताउनुभयो । माओवादीको बन्द सूचीमा बाबुराम पक्षका धेरै नेतालाई समानुपातिक सूचीमा राखिएको समेत छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताउनुभयो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

प्रचण्डले भन्नुभयो, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग एकता गर्ने बताउँनुभयो ।

प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उहाँको दावी छ । ‘प्रचण्ड, बाबुराम यो कुनै दुईटा नाममात्र भएर परिवर्तन भएको होइन ।

यो इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् यी’, प्रचण्डले भन्नुभयो, ‘उनीहरु (प्रचण्ड र बाबुराम) एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ युग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’

प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको प्रचण्डको भनाई थियो । आफ्नो र बाबुरामको बानी व्यवहार आपसमा नमिल्ने भन्दै प्रचण्डले दुबै एक ठाउँमा हुँदा एउटाको अभाव अर्कोले पूर्ति गर्ने गरेको बताउँनुभयो ।

‘हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन । हामीले हिसाब गरेकाछौं । बढी भए एक दशक’ उहाँले भन्नुभयो, ‘एक दशक विकासको नयाँ मोडल दिएर खुशीसाथ संसारबाट विदा हुने सपना बनाएका छौं ।’

सम्बन्धित खबरहरु